विश्वासको मत लिनुपर्ने बाध्यतामा प्रचण्ड - रुपान्तरण
 २०८३ बैशाख १८, शुक्रबार    

विश्वासको मत लिनुपर्ने बाध्यतामा प्रचण्ड


काठमाडौं । राष्ट्रपतिको उम्मेदवारका विषयले नेपालको सत्ता राजनीतिको कोर्षमा पुनः परिवर्तन आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १२ गतेभित्र फेरि विश्वासको मत लिनुपर्ने अवस्था आइपरेको छ । यसका लागि उनी कानूनी परामर्शमा जुटेका छन् । फागुन १३ गते शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रचण्डले त्यसको एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने भएको हो ।

गत पुस १० गते प्रचण्ड प्रधानमन्त्री बनेका थिए । उनले पुस २७ गते विश्वासको मत पाएका थिए । त्यो विश्वास अहिलेसम्मकै प्रधानमन्त्रीले पाएको सबैभन्दा धेरै मत थियो । तर त्यति ठूलो कीर्तिमानीसहित पाएको विश्वासको मत डेढ महिना पनि टिकेन । उनले फेरि विश्वासको मत लिनुपर्ने छ ।

राष्ट्रपतिको निर्वाचनका लागि बनेको नयाँ गठबन्धनका कारण राप्रपाले सरकार छाडेको जनाएको छ । पुस १० को सात दलीय गठबन्धनको सट्टा प्रधानमन्त्री प्रचण्डले राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र एमाले बाहेकको आठदलीय गठबन्धन बनाएपछि राप्रपाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको हो । अहिले राप्रपाले समर्थन फिर्ता लिएको भए पनि पछि रास्वपा र एमालेले पनि समर्थन फिर्ता लिने सम्भावना रहेको छ ।

रास्वपाले नयाँ सिर्जित राजनीतिक परिस्थितिलाई मूल्यांकन गर्दैै केन्द्रीय समिति बैठकबाट नयाँ निर्णयको तयारी गरिरहेको छ भने एमालेले तत्काल कुनै कदम नचाल्ने बताएको छ । एमालेले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचनसम्म कुनै पनि कदम नचाल्ने बताएको छ ।

संविधानको धारा १०० को उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ ।

सोहीअनुसार प्रचण्डले आगामी चैत १२ गतेभन्दा अगाडि नै विश्वासको मत लिनुपर्नेछ । यो समयावधिमा उनले विश्वासको मत लिन नसकेमा पदमुक्त हुनुपर्नेछ । अहिलेको अवस्थामा आठदलीय गठबन्धन टिकिरहने हो भने राप्रपामात्र हैन रास्वपा र एमालेले समर्थन फिर्ता लिए पनि फरक पर्ने छैन ।

प्रचण्डले राष्ट्रपतिको निर्वाचनको समीकरणसँगै विश्वासको मत लिने समीकरण पनि बनाइरहेको बालुवाटार स्रोत बताउँछ । बालुवाटार निकट एक नेताका अनुसार प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन् ।

राष्ट्रपतिको निर्वाचन हुन नै अझै दश दिन बाँकी रहँदा त्यतिन्जेल परिस्थिति जे पनि हुन सक्ने देखिन्छ । एमालेले कुनै प्रभाव पार्न सकिन्छ कि भन्दै समर्थन फिर्ता लिनेबारे नसोचेको बताएको छ ।

राष्ट्रपतिका लागि आठ दलीय समर्थनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल खडा भएका छन् भने एमालेले अहिले आफ्नो पार्टीको मात्र उम्मेदवारका रुपमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उठाएको छ । एमालेले उम्मेदवारी दर्ता गरेकै दिन कांग्रेस बाहेकका दल तथा स्वतन्त्र सांसदलाई गरी १७ वटा सहयोगका लागि आग्रह गरिएका पत्र लेखेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले आठदलीय गठबन्धन नजानेको र पुस १० को सातदलीय गठबन्धनमात्र चिनेको भन्दै ती दलसँग आवद्ध नेताहरुलाई फकाउने प्रयास गरेका छन् । एमालेसँगै राप्रपा र रास्वपा बाहेकका दलहरु भने आठ दलीय गठबन्धनमा सरीक भइसकेका छन् ।

एमाले सरकार नछोडेकाले पनि प्रचण्ड राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासका लागि प्रस्ताव लैजान लागेका हुन् । प्रचण्डले विश्वासको मत नपाए संविधानको धारा ७६ (३) बमोजिम प्रतिनिधि सभाको पहिलो ठूलो दलको नेता प्रधानमन्त्री नियुक्त हुने व्यवस्था छ ।

प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न बहुमत अर्थात् २७५ को १३८ मत आवश्यक पर्छ । प्रतिनिधि सभामा माओवादीको ३२ सिटमात्रै छ । एमालेले साथ छाडेपछि प्रचण्डलाई कांग्रेसको साथ जरुरी छ । त्यसबेला प्रतिनिधि सभामा उपस्थित २७० सांसदमध्ये २६८ ले प्रचण्डलाई विश्वासको मत दिएका थिए ।