प्रसाइँको अभिव्यक्ति व्यवसायीको टाउको दुखाइ - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

प्रसाइँको अभिव्यक्ति व्यवसायीको टाउको दुखाइ


काठमाडौं । फागुन १ गते झापामा आयोजना गरेको एक सार्वजनिक कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईं खुलेआम लघुवित्त र बैंकका कर्मचारीलाई कालो मोसो दल्न भनी दिएको अभिव्यक्तिका कारण ब्यांक तथा वित्तीय संस्थामा तरंग पैदा भएको छ । उनले कालो मोसो दलेपछि प्रहरीले पाँच दिन हिरासतमा राखेर छोड्ने भएकाले यो अभियानमा लाग्न प्रसाइँले सर्वसाधारणलाई उक्साएको भन्दै ब्यांक तथा वित्तीय संस्था सम्बद्ध व्यक्तिहरुले आपत्ति समेत जनाएका छन् ।

सोही अभिव्यक्तिलाई लिएर नेपाल ब्यांकर्स संघ, डेभलपर्स ब्यांकर्स एशोसिएशन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त ब्यांकर्स संघले संयुक्त विज्ञप्ति निकालेर ब्यांक तथा वित्तीय संस्था र लघुवित्त विरुद्ध भएका अराजक घटनालाई समयमै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

उनले सामन्तीसँग लड्ने अभियान सुरु गरेको घोषणा गर्दै झापामा मात्र २ सय जनालाई परिचालन गरेको बताएका थिए। प्रसाइँको उक्साहटपछि जाजरकोटमा किस्ता उठाउन गएका लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलेर पैसा समेत लुटिएको छ। यो घटनासँगै प्रसाइँ विरुद्धमा कानुनी कारबाही अघि बढाउनुपर्ने माग उठाइएको छ ।

गृह मन्त्रालयले प्रसाईँको अभिव्यक्तिपछि सबै जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई पत्राचार गरेर सुरक्षा निकायलाई अलर्ट राख्न निर्देशन इिसकेको बुझिएको छ । तर तरंगित भएका ब्यांकर्सहरूले वित्तीय प्रणाली खलबलिने भन्दै चिन्ता जनाउँदै आएका छन्। संयुक्त विज्ञप्ति जारी गरेका चारै संस्थाले ब्यांकले ऋण दिएको रकम बचतकर्ताकै निक्षेपको रकम भएकाले यसको सुरक्षाको प्रत्याभूति हुनपर्ने बताएका छन्। ब्यांक तथा वित्तीय संस्थाले चार करोड ८३ लाखभन्दा धेरै निक्षेप खाता मार्फत झन्डै ५४ खर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको तथा १८ लाख ऋणीलाई ४८ खर्च ऋण दिएको संघले जनाएको छ।

ब्यांक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षमा राज्यलाई ३४ अर्बभन्दा बढी कर तिरेको तथा कोभिड(१९ महामारी संक्रमणका वेला ऋणीलाई ब्याजमा १० अर्ब छूट दिएको पनि जनाइएको छ। त्यसैगरी, देशको दूरदराजमा लघुवित्त संस्थाहरूले झन्डै ६० लाख निक्षेप खाता तथा ३२ लाखभन्दा बढी ऋणीलाई सेवा प्रदान गरेको पनि विज्ञप्तिमा जनाइएको छ।

कुनै पनि ब्यांक तथा वित्तीय र लघुवित्त संस्थाबाट ऋण लिएपछि नियमित रूपमा कर्जाको सावाँरकिस्ता तिर्नु ऋणीको पहिलो दायित्व हुने कुरा स्मरण गराउँदै विभिन्न शर्तहरूको अधीनमा रही लिएको ऋण नतिर्ने भन्नु अराजकता हुने बताइएको छ। “यस प्रकारका क्रियाकलापहरू कसैको हितमा हुँदैनन्, यसले असहज वातावरण सिर्जना गर्छ र आर्थिक गतिविधिमा समेत नकारात्मक असर पर्छ,” विज्ञप्तिमा भनिएको छ।

प्रसाईंले दिएजस्तो अभिव्यक्ति मुलुकी अपराध संहिताको परिच्छेद २ मा सार्वजनिक शान्ति विरुद्धको कसुर आकर्षित हुने गर्छ। यस्तो कसुरको परिच्छेद २ मा झुट्टा अफवाह फैलाउन नहुने भनेर उल्लेख गरिएको छ। उनको अभिव्यक्तिले मानिसलाई उक्साहट गरेर शान्ति सुरक्षा खलल गर्ने देखिएको कानुन व्यवसायीहरुले बताएका छन्। अरूलाई दुरुत्साहित गरेर कुनै घटना घटाएमा मुलुकी अपराध संहिता २०७४ समेत आकर्षित हुने कानून व्यवसायीहरुको भनाइ छ । तर प्रसाईंले उक्त अभिव्यक्ति फिर्ता लिएको जनाएका छन् ।

यता, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्नेभन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् ।मिश्रले पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्त संस्थाका कर्मचारी माथि कालोमोसो दल्ने समूह बनाउने कामले समाज विभाजित गर्ने प्रतिक्रिया दिए । व्यवसायीहरुले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा दबाब समूह बनाइ कालोमोसो दल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न उनले आग्रह गरे ।

प्रसाइँले भने राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति एवं नागरिक बचाऔं महाअभियान नाम दिइएको अभियान शुरु गरेको बताएका छन् । उनले फागुन २० गतेदेखि नयाँ बानेश्वरस्थित संसद भवन अघिबाट आन्दोलन शुरु हुने बताए । जनआन्दोलनबाट स्थापित गणतन्त्रले देशलाई राहत नदिएको भन्दै राजालाई अभिभावकको रुपमा राख्न उनको माग छ । आफ्नो कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह समेत आउने उनको दाबी छ । अहिलेको राजनीतिक किचलोको कारण देशले अभिभावक खोजेको भन्दै पूर्व राजाले समेत आफ्नो अभियानलाई साथ दिने उनको दाबी छ ।