आईपीएलको नियमहरू परिवर्तन गर्ने तयारी - रुपान्तरण
 २०८१ बैशाख ६, बिहीबार    

आईपीएलको नियमहरू परिवर्तन गर्ने तयारी


काठमाडौं । विश्वको सबैभन्दा रोमान्चक लिग इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४औं संस्करण सुरु हुन अब केही दिन मात्र बाँकी छ । खेलका लागि हरेक टोलीले आफ्नो तयारीलाई तीव्र बनाएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईपीएलको १४औं लिगमा आफ्ना धेरै नियमहरू परिवर्तन गर्न लागेको छ । बोर्डले अन फिल्ड सफ्ट सिग्नलको नियमलाई हटाउँदै एक पारी ९० मिनेटभित्र सक्नुपर्ने नियम बनाएको छ । क्रिकबजका अनुसार बीसीसीआईले सबै फ्रेन्चाइज टीमलाई एक ईमेल पठाएर यसपटक भएको परिवर्तनको विषयमा जानकारी गराएको छ ।

पहिला २० औं ओभर ९० मिनेटमा सुरु गनुपर्ने नियम भएकोमा अहिले निर्धारित ९० मिनेटमा २० ओभरको खेल सक्नुपर्नेछ । कुनै कारणले २० ओभरको खेल नभएको खण्डमा हरेक ओभरलाई ४ मिनेट १५ सेकेण्डको हिसाब गरेर समय तय गरिने बीसीसीआईले जनाएको छ ।

यदि कुनै पनि टीमले समय खेर पालेको पाएमा चौथो एम्पाएरको भूमिका अन्यन्त महत्वपूर्ण हुनेछ । समयमा पूरा नगरेको खण्डमा संशोधित ओभर रेट नियम र बलिङ गर्ने टीमलाई चेतावनी दिने अधिकार अब चौथौ अम्पाएरलाई दिइएको छ । फिल्डमा भएको अम्पाएरको संकेतको असर थर्ड अम्पाएको निर्णयमा नपर्ने नियम पनि बीसीसीआईले थप गरेको छ ।

यसको मतलब खेलको दौरान फिल्डमा भएको अम्पाएरले थर्ड अम्पाएरको मद्दत लिने क्रममा सफ्ट सिग्नलको इशासा गर्न पाइनेछैन । फिल्ड अम्पाएरका कारण थर्ड अम्पाएरलाई निर्णय लिन सजिलो होस् भन्ने उद्देश्यले यो नियम राखिएको हो । यो नियमका कारण विवाद उत्पन्न नहुने बीसीसीआईको विश्वास छ ।