सुखद् रहेन भण्डारीको कार्यकाल - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

सुखद् रहेन भण्डारीको कार्यकाल


काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारदेखि शीतल निवास छाडेकी छन् । भण्डारीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई शितलनिवासको साँचो र कुर्सी हस्तान्तरण गरेसँगै विदा भएकी हुन् । उनको कार्यकाल सकिएपछि सोमबारबाट पौडेलले नेपालको राष्ट्रपतिको रुपमा कार्यभार सम्हालेका छन् ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । सोही अनुसारको समारोह सकिएपछि उनलाई नेपाली सेनाले २१ टोपको सलामी दिएर बिदाई गरे र बिदाइ पश्चात नवनिर्वाचित राष्ट्रपति पौडेलले निवर्तमान राष्ट्रपति भण्डारी गाडीसम्म छोड्न गएका थिए ।

एमालेकै सर्वोच्च पदमा लक्ष्य राखेकी भण्डारी एमालेको उपाध्यक्ष हुँदै गर्दा २०७२ कात्तिक ११ मा राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । संविधानसभाबाट संविधान जारी भएपछिको पहिलो र गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा उनी शित्तल निवास पुगेकी थिइन् । त्यसपछि उनले ७ वर्ष कार्यकाल पूरा गरिन् ।

उनको पद सेरोमोनियल भएको दलका नेताहरुले बताए पनि उनले संवैधानिक रुपमा कतिपय काममा चासो देखाउने र त्यस अनुरुपका काम कारबाही गर्दा निरन्तर आलोचना र समर्थनको भूमरीमा रहिन् । तर केही कामले उनको तारिफ समेत भएको छ । विदाई भेटमा आइतबार साँझ पुगेका कतिपय नेताहरुले उनको खुलेरै प्रंशसा गरेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कतिपय सन्दर्भमा राष्ट्रपतिले चालेका कदम व्यक्तिगत रुपमा कसैलाई मन नपरे पनि राष्ट्रको हितमा थियो भन्दै प्रशंसा गरेका थिए ।

‘देउवाको सन्दर्भमा भण्डारीको कतिपय कदम तितो थियो । केपी शर्मा ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउँदा संविधानको मर्यादा नै नाघेर उनले नियुक्त गरिएको भाषा प्रयोग गरेकी थिइन् । त्यतिमात्रै हैन शपथ दिलाएपछि कुनै औपचारिकता बिना नै निवासतिर लागेकी थिइन् । अनि देउवाले आफ्नो कार्यकालमा भेट्न खोज्दा पनि भेट नदिने लगायतका कामहरु गरेकी थिइन ।

राष्ट्रपतिमा आसिन भैरहँदा उनको पुरानो दल नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीको जुनकुनै कदमलाई पनि सही कदम भन्दै बचाउ गरेका थिए । कांग्रेस, माओवादी केन्द्र र एमालेबाटै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी लगायतका दलले भने भण्डारीका कतिपय भूमिकाप्रति आलोचना गरेका छन् ।

खासगरी नेकपा कालमा तत्कालीन प्रधानमन्त्री ओलीले दुई दुई पटक संसद विघटन गर्दा सदर गरिदिएको, ओलीले सिफारिस गरेका संवैधानिक परिषद् सम्बन्धी अध्यादेशदेखि नागरिकतासम्वन्धी अध्यादेशमा कुनै रोकतोक स्वीकार गरिदिएको र त्यही प्रकृतिको नागरिकता अध्यादेश कांग्रेस सभापति देउवा नेतृत्वको सरकारले अगाडि बढाउँदा रोक्ने र संसदले पास गरेको विधेयकसमेत रोकेकोमा उनको आलोचना भएको थियो ।

एमाले नेता कार्यकर्ताले उनको यो कदमलाई राष्टवादी कदम भनेर प्रचार गर्यो भने विपक्षीहरुले विधि बाहिर गएर राष्ट्रपतिले कदम चालेको भन्दै टिप्पणी र आलोचना गरे । यसले पनि उनी सात वर्षे कार्यकाल निकै विवादित र आलोचनाको शिकारसमेत भइन् । उनी राष्ट्रपति भए पनि एमालेको एजेन्डाबाट टाढा रहन नसकेको भनेर आलोचना हुने गरेको छ । उनले पार्टीको महाधिवेशन होस् वा संवैधानिक निकायमा नियुक्ति होस् वा सासदका लागि उम्मेदवारी घोषणा गर्दा होस् हरेक पटक भाग खोज्दै आएकी थिइन् ।

उनले आफूले पनि संचारमाध्यमहरुमा भनेकी थिइन् कि एकपटक पार्टीको नेतृत्व सम्हाल्ने मन छ । त्यही इच्छालाई जिवितै राख्ने क्रममा उनी शितल निवासमा बसेर पार्टी चलाउने प्रयत्नमा रहिराखिन् । पार्टिको एजेन्डा बोकेरै हिँडेका कारण र उनले खेलेको भूमिकाकै कारण यसपटक राष्ट्रपति चयन गर्दा दलहरुले निकै चासो लिए ।

२०७२ कात्तिक ११ मा पहिलो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी विद्या २०७२ पुस २ गते विधवाले दर्शन गरेको भन्दै जानकारी पाएपछि मन्दिर चोख्याउन लगाएरमात्र आफू मन्दिरमा दर्शन गर्न गएकी थिइन् । त्यसबेला घृषित काम गरेको भन्दै उनको चर्को आलोचना भएको थियो ।

२०७३ कात्तिक ६ गते सप्तरीको छिन्नमस्ता मन्दिर पुग्दा सैनिक जवानलाई जुत्ता बोकाएको आरोपमा पनि सञ्चारमाध्यम, सामाजिक संजालबाट उनले आलोचना खेपेकी थिइन् ।

२०७३ माघ दोस्रो साता राष्टपतिकै चाहनामा आवासका लागि ६२ करोडको बुलेट प्रुफ घर बनाइएको आरोप लगाइएको थियो । उनी सवारी हुदा सडकमा आम नागरिकले सास्ती खेप्नु परेको भनी पटक पटक विरोध भएको थियो । साथै सडकमा नागरिकहरुले प्रदर्शन समेत गरेका थिए ।

२०७३ माघ ३ गते कान्छी छोरी निशाकुसुम भण्डारीको पूर्व राष्ट्रपति डा.रामवरण यादवका आफन्तसँग राष्ट्रपति निवासबाटै बिहे गरेको भन्दै निकै आलोचना भएको थियो । २०७४ असोज ३ मा राष्ट्रपति र उपराष्ट्रपतिको पदीय काम कारबाहीबारे मुद्दा नलाग्ने ब्यवस्था भएको कानून प्रमाणीकरण गरेको भन्दै उनको आलोचना भएको थियो ।

२०७४ को दशैँको टीकामा केही व्यक्तिलाई कुर्सी र केहीलाई घुँडा टेकाएर टीका लगाइदिएको तस्बिर सार्वजनिक भयो । त्यसमा पनि उनीमाथि सामाजिक सञ्चालमा तीव्र प्रहार भएको थियो । उनी २०७४ फागुन २९ गते दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि २०७४ फागुन ३० गते प्रधानन्यायाधीशबाट बर्खास्तमा परेका गोपालप्रसाद पराजुली समक्ष सपथ लिएको भन्दै अर्को आलोचना गरिएको थियो ।

०७५ कात्तिक १२ गते विभिन्न देशले कतारमा नाकाबन्दी लगाएका बेला भ्रमण गरेकोमा पनि उनीमाथि प्रहार भएको थियो । २०७६ फागुनमा नेकपाको विवाद उत्कर्षमा पुग्दा मध्यस्थता भेटघाट गरेको आरोप लागेको थियो ।

२०७७ मंसिर ३० गते प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत संवैधानिक निकायमा एकतर्फी गरेको नियुक्ति सिफारिस स्वीकार गरेको र २०७७ पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटनका लागि गरेको सिफारिस सदर गरेको तथा २०७८ जेठ ८ गते प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटनको सिफारिस गर्दा पनि सदर गरेपछि सर्वोच्च अदालतमा रिट परेपछि ओली सरकार नै विघटन भएको थियो ।

२०७९ भदौ २० गते राष्ट्रपतिको सन्देशपछि पनि दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै तत्कालीन सरकार, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले तीव्र आलोचना गरेका थिए । उनले यही नागरिकता बारेमा सुझाव र सल्लाह लिने भन्दै थुप्रै एमाले निकटका नेता तथा बुद्धिजीवीलाई शितल निवासमा विभिन्न समूहमा बोलाएर भोज खुवाएकोप्रति पनि आलोचना भएको थियो ।


समग्रमा महिला राष्ट्रपति बनेकामाभण्डारीले मान सम्मान अधिक पाइन् । उनले पदीय ओज पनि बढाइन् । मदन भण्डारीले कल्पेको सपनाको कुर्सीमा उनी दुई पटक विराजमान भइन् । तर मदन भण्डारीको २०५० सालमा दासढुङ्गामा भएको जीप दुर्घटनामा परी निधन भएको अनुसन्धान गर्न नसकेको भनेर आलोचना खेपिरहिन ।

पदमा रहँदा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । तर दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीको प्रसंशा भन्दा बढी आलोचना भएको हो । पछिल्लो समय संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न दोस्रो पटकसमेत अस्वीकार गरेपछि संवैधानिक दायरा नाघेको भन्दै उनको आलोचना भएको थियो । उनको २२ महिने पहिलो कार्यकालभन्दा दोस्रो कार्यकाल बढी विवादित भएको थियो ।