राष्ट्रपति पौडेलले तोडे राजसी शैली - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

राष्ट्रपति पौडेलले तोडे राजसी शैली


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् । शनिबार अपराह्न वसन्तपुरस्थित कुमारी घर पुग्नुभएका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।

राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरेका थिए ।

राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन । राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जाँदा सडक खाली नगरी गरेका थिए । अगुवा र पछुवा गाडी लिएर राष्ट्रपति पौडेल वसन्तपुर पुग्दा धेरै सर्वसाधारणले उनी आएको पत्तो समेत पाएनन् । अन्य भने राष्ट्रपति त्यसरी आएको भनेर पत्याउन मुस्किल मानेका थिए ।

यसअघि राष्ट्रपतिको सवारीमा सर्वसाधारणले धेरै दुःख पाउने गरेका थिए । राष्ट्रपतिका लागि सडक खाली गराउँदा जनताले लामो जामको सास्ती खेप्नुपर्थ्यो । गणतन्त्र आए पनि राष्ट्रपतिको राजसी शैली चौतर्फी आलोचना हुने गरेको थियो । तर पौडेलले राजसी शैली तोडेका छन् ।

कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्किएका थिए । राष्ट्रपति पौडेलले पहिलोपल्ट कुमारी घरमा चिया पिएका हुन । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन ।

यसअघि, कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ ।