कोशी प्रदेशमा संघर्ष, अडानमा मुख्यमन्त्री - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

कोशी प्रदेशमा संघर्ष, अडानमा मुख्यमन्त्री


काठमाडौं । कोशी प्रदेश नामकरणविरुद्ध विराटनगरमा जनप्रदर्शन जारी छ । आइतबार मात्र प्रदेशका विभिन्न ठाउँबाट भएका हजारौंको संख्यामा भेला भएका पहिचान पक्षधरहरुले मुख्यमन्त्री कार्यलय घेराउ गरेका छन् ।

आन्दोलनमा उपस्थित मञ्जु थेगिमका अनुसार करिब २० हजार भन्दा बढी आन्दोलनमा सहभागि भएका छन् । विराटनगरको विजुली अफिसबाट सुरु भएको ¥याली महेन्द्र चोक हुँदै निषेधित क्षेत्र तोडेर अघि बढेको थियो । आन्दोलकारीहरुले मुख्यमन्त्रीको कार्यलयअघि पुगेर कोण–सभा गरेका हुन् ।

आन्दोलनलाई सम्बोधन गर्दै कुमार लिङ्देनले राजसंस्था पनि सडकबाटै फ्याँकिएको भन्दै अब आफरु पनि सडकमा आइसकेको बताए । उनले आन्दोलन भर्खर सुरुवात मात्रै भएको बताए । यस्तै, आन्दोलनलाई विभिन्न संघसंस्थाका पदाधिकारी, राजनीतिज्ञ लगायतले सम्बोधन गर्दै कोशी प्रदेश खारेज गरी पहिचानमा आधारित प्रदेश नामकरण गर्न माग गरेका छन् ।

प्रदेश सभाले फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो । पहिचानवादीहरूले भने पहिचानलाई ख्याल नगरी दलहरूले प्रदेशको नामाकरण गरेको भन्दै विरोध गर्दै आएका छन् । प्रदेशको नाम पुनरलेखन नगरेसम्म आन्दोलन जारी रहने किरात पहिचान पक्षधरहरु बताउछन् ।

तर मुख्यमन्त्री हिक्मत कार्की आफ्नो अडानमा अडिक छन् । प्रदेशको नाम परिवर्तन नहुने बताए । नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि आइतबार नै ओखलढुङ्गा पुगेका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आयोजित कार्यक्रममा कोशी नाम सर्वस्वीकार्य नाम भएकाले तत्काल प्रदेशको नाम परिवर्तन नहुने बताए ।

लामो समय नामविहीन प्रदेशमा आफू मुख्यमन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले कोशी नाम पारित गरेको बताउँदै उनले तत्काल नाम संशोधनका विषयमा छलफलसमेत नहुने बताए । नामको विषय छाडेर प्रदेशको समृद्धिमा लाग्न उनले आग्रह गरे ।

“कोशी सबैको सभ्यता र पहिचानसँग मात्रै होइन मानव जीवनसँग पनि जोडिएको नाम हो । ९० प्रतिशतभन्दा बढी सांसदले पारित गरिसकेको यो नाम अब परिवर्तन त होइन नामका विषयमा छलफलसमेत हुँदैन”, उनले भने, “हिजो नाम भएन भन्नेहरु आज नाम मन परेन भनेर आन्दोलन गर्दैछन्, यस्तो बाटोमा हिँडेर गन्तव्यमा पुगिन्न । बरु प्रदेश कसरी समृद्ध बन्छ त्यो सुझाव दिनुस् ।”