वसन्त कुँवर प्रहरी महानिरीक्षक - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

वसन्त कुँवर प्रहरी महानिरीक्षक


काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आइजिपी बनाउने निर्णय गरेको हो । २०७९ वैशाख १८ मा आइजी नियुक्त धीरजप्रताप सिंहले शुक्रबारबाट अवकाश पाएका छन् ।

आइजिपीका लागि कुँवरसँगै एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य दौडमा थिए । डिआइजीबाट एआइजी बढुवा हुँदा कुँवर १ नम्बरमा थिए । बढुवा हुनेको सूचीमा कुँवर १ नम्बरमा थिए भने दोस्रोमा राई, तेस्रोमा थापा, चौथोमा ज्ञवाली र पाँचौँमा बज्राचार्य थिए ।

२०२६ चैत १५ मा अर्घाखाँचीको सन्धीखर्कमा बाबु भीमबहादुर कुँवर र आमा नमकलाबाट जन्मिएका कुँवर २०५१ चैत ५ मा निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका थिए । अहिलेको ३० वर्षे सेवाअवधि कायम रहे कुँवर २०८१ चैतमा अवकाशमा जाने छन् ।

२०६३ भदौ ८ मा डीएसपी, २०७१ फागुन १० मा एसपी, २०७५ फागुन ६ मा एसएसपी र २०७९ असार १७ मा डीआईजी बनेका उनले विभिन्न जिल्लाका अलावा प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेर काम गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर उनी इन्स्पेक्टर, डीएसपी र एसपी हुँदा विभिन्न जिल्लामा रहेर काम गरेका थिए ।

२०७३ मा चितवन प्रहरी प्रमुख रहँदा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुखको अवार्ड पाएका थिए । कुँवर गएको असार १७ मा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए ।