महानिरीक्षक कुँवरको काँधमा बोकाइएको भारी - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

महानिरीक्षक कुँवरको काँधमा बोकाइएको भारी


काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा भएका वसन्तबहादुर कुँवरलाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)कुँवरलाई प्रहरी महानिरीक्षक(आईजीपी)मा बढुवा गरेको थियो । कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक हुन । ३० वर्षे सेवा अवधिका कारण शुक्रबारबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अवकाश पाएका छन् ।

समारोहमा कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताए । उनले प्रहरीले गर्ने राम्रा कामहरु र विगतमा भएका त्रुटीहरु लुकाएर प्रशासन बलियो नबन्ने भन्दै प्रहरीमा सुधार आवश्यक रहेको बताए । उनले प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको पनि स्पष्ट पारे । उनले अपराधको रोकथाम र अनुसन्धानमा कुनैपनि बहाना र विकल्प विना काम गर्ने प्रतिवद्धता जनाए । यद्यपि, हालसम्म संगठनभित्र निष्कलंक छवि रहेका कुँवरका लागि अबको यात्रा सहज भने छैन ।

सत्ता र शक्तिको रस्साकस्सीमा चल्ने प्रहरी संगठन प्रमुखको छनोट यस पटक विवादरहित ढंगमा सम्पन्न भएको हो । पदीय निष्ठाका कारण खड्गजीत बरालले लगातार सात वर्ष संगठन प्रमुखको जिम्मेवारी निर्वाह गरेको इतिहास रहेपनि अधिकांश संगठन प्रमुखले पूरा कार्यकाल उपयोग गर्न पाएनन् । तीन दशक अघिदेखि राजनीतिक दलहरुको प्रत्यक्ष बाहुबली चल्दै आएको प्रहरी संगठनको व्यवसायिक मर्यादाको बहस व्यक्ति परिवर्तनले नहुने निश्चित छ ।

यसअघि लगातार निवृत्त दुई संगठन प्रमुख शैलेश थापा क्षेत्री र धिरजप्रताप सिंह कुनै विवादमा नमुछिई बिदा भए । तीन वर्ष तीन महिना पदमा रहेका उपेन्द्रकान्त अर्यालपछि अधिकांश संगठन प्रमुखको कार्यकाल एकाध वर्षमै समाप्त हुँदै आएको छ । फुली पहिरिने क्रममा हरेक संगठन प्रमुखले प्रहरीको सत्य, सेवा सुरक्षणमको मूल मर्म बोक्ने संकल्प गरेपनि उत्तराद्र्ध सहज बन्न सकेको देखिदैन । विभागीय मन्त्रीको लाचार छायाँ बनेर धेरै प्रहरी महानिरीक्षकको कार्यकाल समाप्त भएको तीतो अतीत छ । ३० औं महानिरीक्षक कुँवर पनि आफ्नै यसैखाले प्रतिवद्धताको परीक्षामा सामेल भएका छन् ।

खस्किएको प्रहरी मनोबल उकास्ने, राजनीतिक आवरणमा हुने अपराध नियन्त्रण, राजनीतिक नेतृत्वको आवासबाट प्रहरीको सरुवा बढुवा रोक्ने, आन्तरिक शुद्धीकरण गरी संगठनको व्यवसायिक मूल्य मान्यता चुस्त दुरुस्त राख्ने प्रमुख एजेण्डा नवनियुक्त संगठन प्रमुख कुँवरको काँधमा छ ।

आईजीपी कुँवरको पदोन्नतिसँगै एआईजी बनेको टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको पदस्थापन हुन बाँकी छ ।सहकर्मीहरुसँगको तालमेल र सहकार्यले कुँवरको भविष्य निर्धारण हुने छ । त्यसबाहेक खाली रहेका चार एआईजी छनोटमा न्याय गर्नुपर्ने दायित्व संगठन प्रमुखको काँधमा छ ।

चार दिनअघि एआईजीको दज्र्यानी चिन्ह लगाए पनि सरकारले एआईजीमा कुँवरसहित ५ जनालाई पदस्थापन गरेको थिएन । केही दिनमै यीनै ५ मध्येबाट आईजीपी बनाउनु पर्ने भएकाले पदस्थापन रोकिएको थियो । ८ महिनादेखि रोकिएको एआईजी बढुवा सरकारले अन्तिम समयमा गरेको हो ।

"