काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको सार्वजनिक अडिओमाथि छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ ।
प्रवक्ता तथा महामन्त्री डा मुकुल ढकालले आइतबार विज्ञप्ति निकालेर छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउनसमेत डा. श्रेष्ठलाई निर्देशन दिइएको जानकारी दिएका छन् ।
सभापति रवि लामिछानेले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरेर कारबाही गर्ने पनि बताए । बारा २ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले श्रेष्ठमाथि छानबिन गरेर कारबाही गर्ने बताएका हुन् ।
सभापति लामिछानेले भने , ‘मैले ७२ घण्टे अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो । अब ७० घण्टाभित्र सत्यतथ्य छानबिन गरेर कारबाही गर्न नसके मलाई यही गढीमाईमा बलि दिनुहोला ।’ सभापति लामिछानेले सांसद श्रेष्ठ दोषी पाइएमा कारबाही गरिने र सांसदबाट फिर्ता बोलाइने बताए ।
सभापति लामिछानेले सांसद श्रेष्ठको अडिओ आफूले सुनेलगत्तै उनलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको बताए । सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएको थियो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रास्वपाका सांसद श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको हो ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ । अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन गर्ने भएको छ ।
सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सांसद श्रेष्ठलाई निलम्बन गरेर छानबिन लागि समिति बनाउने पार्टीको तयारी छ । यस विषयमा रास्वपा उपाध्यक्ष डोलप्रसाद अर्याललाई जिज्ञासा राख्दा उनले यदि अडिओ आधिकारिक पुष्टि भएको खण्डमा उपयुक्त कारबाही हुने बताए
"