बैंकको ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

बैंकको ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले भने, “मैले नै यो बैठकको आयोजना गरेको हुँ। अर्थतन्त्रमा देखा परेको दवावलाई कम गर्न लगातार छलफलमा छौँ। बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ। हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ।” “विदेशी मुद्रा सञ्चितिको दवावबाट अलि सजिलो महशुस हुँदैछ। अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ” प्रधानमन्त्रीले भने, “बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्ने सोच्दैछु। हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दवावलाई सकारात्मक दिशामा लैजान सक्छौँ।”

“अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै कारण जिम्मेवार छन्” प्रधानमन्त्रीले भने, “यसमा भूकम्प, कोभिड, रूस र युक्रेनको युद्ध लगायतका कारण छन्। आयात, निर्यातसम्बन्धि निर्यातमा भएका सीमाहरूको कारण पनि छ। राजस्व संकलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेका छौँ।”

“अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिँदैछौँ। घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौँ। त्यसकारण यसमा पनि हामी छिटै निष्कर्षमा पुग्छौँ” प्रधानमन्त्रीले भने । “बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन। त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन” प्रधानमन्त्रीले भने “हुलहुज्जतको सहज सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ।”

छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृत लगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताए । सुरक्षा सम्बन्धी सवाल उठाएका प्रचण्डले बैंकको ऋण नतिर्ने र कर्मचारीलाई कालोमोसो दल्ने अभियान चलाइरहेका विवादास्पद मेडिकल कजेल व्यवसायी दुर्गा प्रसाईंलाई कारबाही गर्ने घुमाउरो पारामा चेतावनी दिएका हुन् ।

‘बैंकबाट ऋण लिएपछि तिर्नुपर्छ, अहिले ज जसले ऋण तिर्दिन भनेर हिँडिरहेका छन्, उनीहरुलाई कानूनी दायरामा ल्याउँछौं,’ उनले भने । केही महिनायता दुर्गा प्रसाईंले बैंकको ऋण नतिर्ने र ऋण असूलीमा आएका बैंकका कर्मचारीलाई कालोमोसो दल्ने अराजक अभियान चलाइरहेका छन् । जसकारण बैंकलाई कर्जा असूलीमा समस्या भइरहेको छ । यस्तो अभियान चलाउनेलाई कारबाही गर्न प्रधानमन्त्री प्रचण्डले गृहसचिवलाई सोमबारै निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा.प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम राय लगायतका पदाधिकारीहरू उपस्थित थिए ।

"