चीन भ्रमण रद्द गरेका प्रचण्ड भारत जाने तयारीमा - रुपान्तरण
 २०८३ बैशाख १८, शुक्रबार    

चीन भ्रमण रद्द गरेका प्रचण्ड भारत जाने तयारीमा


काठमाडौं । चीनको हेनान प्रान्तमा मार्च २८ देखि ३१ सम्म बोआओ फोरमको सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रमलाई रद्द गरेर बसेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको तयारी थालेका छन् । नेपालस्थित चिनियाँ दूतावासले फागुन ८ गते प्रधानमन्त्रीलाई पत्र पठाई बोआओ फोरममा सहभागी हुन औपचारिक निमन्त्रणा गरेको भए पनि प्रधानमन्त्रीले सो भ्रमण रद्द गरेर भारत भ्रमण गर्ने इच्छा जाहेर गरेका थिए ।

तर अब भारत भ्रमणको निम्तो प्राप्त भएको छ । गत सोमबार भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधामन्त्रीलाई भेटेर सो निम्तो दिएका हुन् । निम्तो प्राप्त भएपछि उनी मुलुकको कार्यकारी प्रमुख भएको पाँच महिनापछि भारत भ्रमणमा जाने भएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड बैशाखको तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने सरकारी स्रोतले जनाएको छ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गत सोमबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी भारत भ्रमणको औपचारिक निम्तो दिएकाले भ्रमणमा जान लागेको हो ।

प्रधानमन्त्रीको भारत भ्रमणका लागि पूर्व अर्थमन्त्री जनार्दन शर्मा दुई साता भारतमै बसेका थिए । प्रधानमन्त्रीलाई भारत भ्रमण गराउने वातावरण बनाउने उनको योजना भएपनि सफल हुन सकेको थिएन । नेपालमा राष्ट्रपतिको निर्वाचनपछि भने भारतले प्रधानमन्त्रीलाई निम्तो दिएको थियो । राजदूत श्रीवास्तव अघिल्लो साता प्रधानमन्त्री दाहालको भ्रमणको चाँजोपाँजो मिलाउन दिल्ली गएका थिए । गत आइतबार दिल्लीबाट फर्किएलगत्तै राजदूत श्रीवास्तवले सोमबार प्रधानमन्त्री प्रचण्डसँग भारत भ्रमणको विषयमा निम्ता दिएका हुन् ।

प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्तो दिएका थिएनन् । पछिल्लो पटक भने भारतले निम्ता दिएपछि प्रधानमन्त्री प्रचण्ड निकै उत्साहित भएका छन् । स्रोतका अनुसार बैशाख तेस्रो साता दिल्ली जाने भएका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय गर्ने भएको छ । परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी शुरू गरेको छ । एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसपछि नै प्रचण्डले भारत भ्रमण चाहेका थिए । अहिले भने भ्रमणको तयारी भैरहेको छ । प्रधानमन्त्रीको सचिवालयले पनि भारत भ्रमणका लागि आवश्यक तयारी गरिरहेको छ ।

भारतीय राजदूतले निम्ता दिएपछि प्रचण्डले परराष्ट्र मन्त्री नियुक्त गरेर भारत भ्रमणमा जाने तयारी गर्न लागेका हुन् । सोही अनुसार नेपाली कांग्रेसका सांसद एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन् । साउदले आइतबार दिउँसो ३ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।