आठौं पटक मन्त्रिपरिषद् विस्तार, एनपीलाई परराष्ट्रको जिम्मा - रुपान्तरण
 २०८३ बैशाख १८, शुक्रबार    

आठौं पटक मन्त्रिपरिषद् विस्तार, एनपीलाई परराष्ट्रको जिम्मा


काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले छिमेकी मुलुकसँग घनिष्ठ सम्बन्ध बनाउँदै लैजाने बताएका छन् । मन्त्रालयमा आइतबार पदभार सम्हाल्दै उनले नेपाल शान्तिपूर्ण मुलुक रहेको र विश्वका सबै देशसँग इतिहासदेखि नै सौहार्द्र र शान्तिपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरे ।

मन्त्री साउदले भने, “हामीले आगामी दिनमा पनि विश्वका सबै देश र छिमेकीसँग सम्बन्ध घनिष्ठ बनाउँदै लैजानेछौँ ।” यसले नेपाल विश्वमा शान्तिपूर्ण र लोकतान्त्रिक मुलुकका रूपमा चिनाउने उनले विश्वास व्यक्त गरे । मन्त्रीमा नियुक्त उनलाई यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

साउद २०१९ साउन २५ गते डडेल्धुरामा जन्मिएका हुन् । उनी नेपाल बिद्यार्थीसंघ मार्फत राजनीतिमा उदाएका हुन् । उनी २०३६ पछि नेपाल विद्यार्थी संघसँग जोडिएर अगाडि बढेका हुन् । २०४१ मा नेविसंघको केन्द्रीय सदस्य भएका साउद २०४३ मा नेविसंघको उपसभापति र २०४८ मा सभापति भएका थिए ।

त्यसपछि २०५३ बाट विद्यार्थी राजनीति छोडेर उनी कांग्रेसको राजनीतिमा लागेका हुन् । डडेल्धुराबाट कञ्चनपुर बसाइ सरेपछि २०५१ मा कञ्चनपुरको तत्कालीन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेर पराजित भएका थिए । तर २०५६ मा भने उनले कञ्चरपुर १ बाट जिते ।

२०५७ मा साउद शिक्षा तथा खेलकुद राज्यमन्त्री भए भने २०७० दोस्रो संविधान सभाको चुनावमा कञ्चनपुरको सोही क्षेत्रबाट सांसद भएर सुशील कोइराला नेतृत्वको सरकारमा सिँचाइ मन्त्री बनेका थिए । २०६१/०६२ मा साउद नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका थिए । त्यस यता उनी लगातार केन्द्रीय सदस्य रहँदै आएका छन् ।

आठौं पटक मन्त्रिपरिषद्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्री बनाइएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईं भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी छिन् ।

आठौं पटक मन्त्रिपरिषद् विस्तार भए पनि अझै मन्त्रिपरिषद् पूर्ण भने हुन सकेको छैन । पाँच मन्त्रालय अझै प्रधानमन्त्रीको भागमा रहेका छन् । नेपाली कांग्रेसले आठ वटा मन्त्रालयको जिम्मा पाएको भए पनि अहिलेसम्म पाँच वटा मन्त्रालय मात्र सम्हालेको छ । अब बाँकी रहेका तीन मन्त्रालय कांग्रेसको संस्थापन इतर पक्ष शेखर–गगन समूहको भएको बताइएको छ । तर अहिलेसम्म उक्त समूहबाट कोही सरकारमा सामेल भएको छैन ।