मिटरब्याज पीडितहरुमाथि दमन - रुपान्तरण
 २०८१ बैशाख २६, बुधबार    

मिटरब्याज पीडितहरुमाथि दमन


काठमाडौं। मिटरब्याजी विरुद्धको संघर्षका क्रममा प्रहरीले अमानवीय र दमनको व्यवहार देखाएको भन्दै पीडितहरुले आपत्ति जनाएका छन् । सोमबार प्रहरीले ढुङ्गा प्रहार गरेको एक पीडितले बताएका छन् । पीडित घाइतेहरुलगायत सम्पूर्ण मिटरब्याज पीडितको उपस्थितिमा पत्रकार सम्मेलन भएको थियो ।

यता, मिटरब्याज पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागसमेत गरेका छन् । प्रहरीको लाठी प्रहारबाट घाइतेसमेत भएका उनीहरुले चर्को नाराबाजी गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । आफूहरूको माग सम्बोधन गर्नुको साटो गृहमन्त्रीले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्नुपरेको उनीहरूको भनाइ छ ।

सोमबार काठमाडौंको शान्तिबाटिकामा प्रहरीसँगको झडपमा परी उनीहरु घाइते भएका थिए । मिटरब्याजीविरुद्ध किसान–मजदूर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले शान्तिपूर्ण आन्दोलनमा रहेकालाई सरकारले दमन गरेको भन्दै आपत्ति जनाए ।

यता, राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको शान्ति बाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ । नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना विचार राख्न पाउने अधिकारको सम्मान र संरक्षण गर्न, प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न आयोगले सरकारसँग आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा धर्नाका क्रममा झडप हुँदा घाइते भएका व्यक्तिको प्रभावकारी उपचारको व्यवस्था गर्न र सार्थक संवादमार्फत समस्याको समाधान गर्न सरकारसँग आग्रह गरिएको छ ।

साथै विरोध र प्रदर्शन गर्दा मर्यादित र शान्तिपूर्ण रुपमा गर्न धर्नामा बसेकालाई आयोगले अनुरोध गरेको छ । न्यायको माग राखी विगत केही दिनदेखि काठमाडौंको शान्तिबाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरी घाइते बनाएको एवम् धरपकड गरिएको घटनाप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले उक्त घटनाको आयोगले स्थलगत अनुगमन गरेको छ । काठमाडौंंको शान्ति बाटिकामा शान्तिपूर्ण धर्नामा रहेका ‘मिटरब्याज’ पीडितहरु प्रधानमन्त्रीलाई भेट्ने तयारीका साथ शान्ति बाटिकाबाट निस्केको अवस्थामा प्रहरीबाट रोक लगाइएको र सोही क्रममा झडप भएको आयोगको अनुगमनबाट पाइएको छ ।

उक्त धर्नामा रहेका व्यक्तिलाई प्रहरीले अत्यधिक बल प्रयोग गर्दै धरपकड गरेको, पीडितले प्रयोग गरिरहेको खाना पकाउने ग्यास, खाद्यान्नलगायतका सामग्री जबरर्जस्ती गरी लगिएको, धर्नामा रहेका प्रदर्शनकारी र वृद्धवृद्धालाईसमेत नियन्त्रणमा लिई महेन्द्र पुलिस क्लबको भवन परिसरमा लगी कुटपिट गरिएको आयोगको अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।

प्रहरीको कुटपिटबाट घाइते भई काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अस्पताल प्रशासन तथा महानगरीय प्रहरीवृत्त दरबारमार्गमा राखिएका व्यक्तिलाई समेत अयोगको अनुगमन टोलीले भेट गरी जानकारी लिएको छ । घाइतेमध्ये अधिकांशलाई टाउकोमा चोट लागेको र ट्रमा सेन्टरमा उपचाररत तीनजना गम्भीर रहेको अनुगमनको क्रममा पाइएको छ ।