शीर्ष नेताको भाषण: गोविन्द भट्टराईलाई मन्त्री बनाइदिन्छौं - रुपान्तरण
 २०८३ बैशाख १७, बिहीबार    

शीर्ष नेताको भाषण: गोविन्द भट्टराईलाई मन्त्री बनाइदिन्छौं


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको उपनिर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेद्‍वार रहेका गोबिन्द भट्टराईलाई जिताएर पठाए आफूले मन्त्री बनाउने बताएका छन्। चुनावी सभालाई सम्बोधन गर्न बुधबार तनहुँ पुगेका प्रधानमन्त्री प्रचण्डले गोबिन्द भट्टराईलाई जिताएर पठाए आफूले मन्त्री बनाउने बताएका हुन्।

उनले भने, ‘अहिले हाम्रै सरकार छ, यो उपचुनावपछि पनि सरकार हाम्रै नेतृत्वमा रहने हो। देशलाई सुशासन, शान्ति र संमृद्धितर्फ लैजाने हामीले नै हो। त्यसैले तपाईंहरू अलमलिनुपर्ने अवस्था छैन, गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई, मागलाई सम्बोधन गर्न उहाँलाई मन्त्री बनाउँछौँ।’

‘यसअघि मैले तनहुँ आएर रामचन्द्र पौडेलजीको लागि भोट मागेको थिएँ, त्यसबेला मैले उहाँलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको थिएँ। उहाँ मैले भनेकोभन्दा अझै ठूलो पदमा पुग्नुभयो, राष्ट्रपति बन्नुभयो। अहिले फेरि गोविन्द भट्टराईकोलागि भोट माग्न तपाईंहरूको अघि उभिएको छु। अघि शेरबहादुरजीले भनिसक्नुभयो, तर अहिले म प्रधानमन्त्री छु, अहिले मन्त्री बनाउने मैले नै हो। म गोविन्द भट्टराईलाई मन्त्री बनाउँछु। हामी गठबन्धनका सबै शीर्ष नेताहरू यसमा प्रतिबद्ध छौं,’ उनले भने।

त्यस्तै, कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको उपनिर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेद्‍वार रहेका भट्टराई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल जत्तिकै योग्य भएको बताएका छन्। बुधबार तनहुँ पुगेका सभापति देउवाले उपनिर्वाचनमा उम्मेद्‍वार रहेका भट्टराई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल जत्तिकै योग्य भएको बताएका हुन्।

उनले भने, ‘देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पृथ्वीनारायणको भन्दा कम छैन। यो भानुको जिल्ला हो। तर अब यो राष्ट्रपतिको भूमि पनि भइसकेको छ। तपाईंहरूले रामचन्द्रजीलाई जिताएर पठाउनुभयो, मैले राष्ट्रपति बनाएँ, गोविन्द भट्टराई पनि रामचन्द्रजत्तिकै योग्य हुनुहुन्छ, उहाँलाई जिताएर पठाउनुहोस्। उहाँ पनि मन्त्री हुनुहोला।’