काठमाडौं । तीन क्षेत्रमा हुन लागिरहेको उप निर्वाचन सम्मुखमा रहँदा प्रतिस्पर्धामा रहेका दलहरु चटारोमा छन् । मतदाता पकाउन उम्मेदवारहरु दौडधुपमा छन् । वैशाख १० गते हुन गइरहेको प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत बारा, चितवन र तनहुँमा चुनाव प्रचारप्रसारको अन्तिम दिन मुख्य प्रतिस्पर्धी दलहरुले शक्ति प्रदर्शन गरेका छन्। बिहीबार मध्यरातदेखि चुनाव प्रचारको क्रम रोकिने हुनाले सबै दलले चुनावी सभा गरेर मतदातालाई आफ्नो जित निश्चित रहेको देखाउन शक्ति प्रदर्शन गरेका हुन्।
शक्ति प्रदर्शनमा आ–आफ्नो उम्मेदवारको जित निश्चित भएको दाबी गर्दै नेताहरुले आफ्नो उम्मेदवारलाई जिताउन आग्रह पनि गरेका छन्। विहीबार चितवन र वारा निकै व्यस्त रहयो । बारा क्षेत्र नम्बर २ को महागढीमाई नगरपालिकाको महागढीमाई मन्दिर परिसरमा बृहत् आमसभाको आयोजन गर्दै पाँच दलीय गठबन्धनले चुनावी शक्ति प्रदर्शन गरे ।
आम सभालाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनका नेताले आफ्ना साझा उम्मेदवार जसपाका उपेन्द्र यादवलाई जिताउन एउटै मञ्चबाट सर्वसाधारणलाई अपिल गरेका छन्। गठबन्धन दलका घटक नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा र लोसपाले संयुक्त रुपमा बृहत् आम सभाको आयोजना गरी बारा क्षेत्र नम्बर २ बाट गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवको चुनाव चिन्ह छाता छापमा मतदान गर्न नेता कार्यकर्तालाई अपिल गरेका छन्।
सभामा प्रधानमन्त्री पुष्पकमल दाहालले उपेन्द्र यादवको खाँचो देशलाई रहेकोले आफ्नो भागमा परेको उपराष्ट्रपति पद जसपालाई दिएर बारा क्षेत्र नम्बर २ बाट निर्वाचित राम सहाय यादवलाई उपराष्ट्रपति पदमा निर्वाचित गराई उपनिर्वाचनमा उपेन्द्र यादवलाई जिताउनको लागि आफूले मुख्य भूमिका खेलेको खुलस्त पारेका छन्। कार्यक्रममा दोस्रो वक्ता नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उपेन्द्र यादव मधेसको नेतृत्व गर्ने एक मात्रै नेता भएकाले उनी जस्ता सच्चा नेतालाई यस पटक अनिवार्य रुपमा जिताएर सदनमा पठाउन नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
यस्तै सोही कार्यक्रममा नेकपा एसका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बज्जिका एवं भोजपुरी भाषामै सभालाई सम्बोधन गर्दै उपेन्द्र मधेश मात्रै होइन देशको नेता रहेकाले उनलाई यो पटक अनिवार्य रुपमा जिताएर सदनमा पठाउन आग्रह गरे।
बृहत् आम सभालाई सम्बोधन गर्दै जसपाका अध्यक्ष एव बारा क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवले बारा जिल्ला अति पिछडिएको जिल्लाको रुपमा रहेकोले यसको समग्र विकासप्रति आफू गम्भीर रहेको बताउँदै लामो समयदेखि रोकी राखेको अन्तर्राष्ट्रिय निजगढ विमान स्थल तत्काल सुचारु गर्न प्रधानमन्त्री मन्त्रीलाई आग्रह गरेका छन्।
नेताहरुले चितवनमा पनि सम्बोधन गरेका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपनिर्वाचनमा गठबन्धनलाई हार्ने छुट नभएको बताए । लोकतान्त्रिक–वाम गठबन्धनले कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउन मतदातालाई आग्रह गरे । एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रजातन्त्रको बहालीका लागि अग्रपङ्क्तिमा लड्दै आएको चितवनका बासिन्दाले आफ्नो मतलाई गलतरुपमा प्रयोग गर्न नहुने बताए ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि भरतपुरको गेस्टहाउसचौरमा आमसभा गरेको छ । सो अवसरमा चितवन–२ उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेले गृहमन्त्री बन्दा भ्रष्टाचारको फाइल खोल्छु भन्दा कतिपय दलका नेताहरु आत्तिएको बताएका छन् ।
कार्यक्रममा तनहुँका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले आफ्ना प्रतिस्पर्धी उम्मेदवारलाई मन्त्री बनाउँछु भनेर आफूलाई हराउन खोजिएको बताए । उनले यसरी नागरिकलाई प्रलोभनमा पारेर अचारसंहिताको उल्लंघन गरिएको विचार राखे । सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डीपी अर्याल, प्रवक्ता मुकुन्द ढकाल, केन्द्रीय सदस्य रमेश प्रसाई, संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरु तोसिमा कार्की, हरि ढकाल र सबिता गौतमलगायतले सम्बोधन गरेका थिए । उनीहरुले अबको चार वर्षपछि २०८४ मा हुने आमनिर्वाचनमा देशभरबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतको सरकार बनाउने विचार राखेका थिए ।