काठमाडौं । नेपाली कांग्रेसको गढ मानिएको तनहुँ क्षेत्र नम्बर १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पोल्टामा पारेको छ । सो स्थानबाट रास्वपाका उम्मेदवार डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । स्वर्णिमले प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार बढी मत ल्याएर निर्वाचित भएका हुन् ।
यसअघि सो स्थानबाट कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका थिए । पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त सो स्थानमा आइतबार निर्वाचन भएको थियो । मंगलबार बिहान सम्पन्न मतगणना अनुसार स्वर्णिमले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन् । उनको प्रतिस्पर्धी कांग्रेसका भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा ९एमाले० का सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गरेका छन् ।
विजयी भएपछि डा.वाग्लेले जनताका अपेक्षाको न्याय गर्ने बताएका छन् । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र थाप्दै स्वर्णिमले यस्तो बताएका हुन् । उनले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गरे ।
तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन नदिने बताउँदै भने, “जनताका अपेक्षा न्याय गर्नेछु,” डा वाग्लेले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताए । नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने बताए ।
उता, विशाल मतको अन्तर निकाल्दै चितवन क्षेत्र नम्बर २ बाट रास्वपाका रवि लामिछाने पुनः निर्वाचित भएका छन् । अन्तिम मत परिणाम अनुसार रविले ५४ हजार १७६ मत पाएका छन् । रविले निकटतम प्रतिस्पर्धी भन्दा करिब साढे पाँच गुणा मत ल्याएका छन् । अन्तिम मत परिणाम अनुसार रविले ५४ हजार १७६ मत पाएका छन् । रविले निकटतम प्रतिस्पर्धी भन्दा करिब साढे पाँच गुणा मत ल्याएका छन् ।
७८ हजार २७७ खसेको मत मध्यै रविले ५४ हजार १७६ मत पाएका छन् । यो उनले पाएको मत ६९ प्रतिशत भन्दा बढी हो । यता लामिछानेलाई टक्कर दिने मानिएका नेपाली कांग्रेस र नेकपा एमाले निरीह साबित भएका छन् । कांग्रेस र एमाले जमानत जफत हुनबाट जोगिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत मात्र पाए भने नेकपा एमालेका राम प्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए । निर्वाचन आयोगका अनुसार खसेको मतको १० प्रतिशत भन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुन्छ । ७ हजार ८ सय मत कटाएर जीतनारायण र राम प्रसाद त्यसबाट जोगिएका छन् ।
रवि जीतनारायणभन्दा ४२ हजार ९६२ मत र राम प्रसाद भन्दा ४३ हजार २४० मतको फराकिलो मतान्तरले विजयी बनेका छन् । गत मङ्सिर ४ मा भन्दा वैशाख १० मा १० हजार मत कम खसेको भए पनि रवि भने मङ्सिर ४ को भन्दा निकटतम प्रतिस्पर्धी भन्दा बढी मतान्तरले विजयी भएका छन् । रविले मङ्सिर ४ को निर्वाचनमा करिब ३४ हजार मतान्तरले जित हासिल गरेका थिए । यो आँकडा हेर्दा मङ्सिर ४ को भन्दा कांग्रेस र एमालेको मत पनि घटेको छ ।
कांग्रेस र एमालेले मङ्सिर ४ को मत पनि बचाउन सकेनन् । उनीहरूमाथि थप लज्जा देखिएको छ ।अझ कांग्रेसका उम्मेदवारलाई त सत्ता गठबन्धन साझेदार दलहरू माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा लगायतको समर्थन थियो । ती सबै मत रविलाई नै गएका छन् । कांग्रेसको मतसमेत रविलाई गएको छ । एमालेको मतसमेत रविलाई गएको छ ।
गत मङ्सिर ४ मा सम्पन्न आमनिर्वाचनमा पनि लामिछानेले कीर्तिमानी जित हासिल गरेका थिए । निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार उमेश श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गर्दै रविले कीर्तिमानी जित बनाएका थिए । सो समय लामिछाने ३४ हजार १ सय ७० बढी मतले विजयी भएका थिए । लामिछानेले ४९ हजार २६१ मत ल्याएका थिए भने सत्तारूढ गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठको १५ हजार ९९ मत ल्याएका थिए ।
रवि पुनः प्रतिनिधि सभामा सबैभन्दा बढी मतान्तरको जित्ने सांसद पनि बनेका छन् । उनी भन्दा पछि नेमकिपाका सचिव प्रेम सुवाल र एमाले अध्यक्ष केपी शर्मा ओली रहेका छन् । भक्तपुर.१ बाट निर्वाचित सुवालको ३० हजार ७९३ मतान्तर छ। भने झापा ५ बाट ओली २८ हजार ५७६ मतान्तरले विजयी भएका थिए ।
विजयी भएपछि उनले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन् । पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिँदै आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको उनले बताए । उनले सुशासनको आशा सबैभन्दा बढी गरिएको बताउँदै भने, “मेरो प्रमुख एजेन्डा सुशासन नै हो ।”
यही अपेक्षालाई आफूले शिरोपर गरेको उनको भनाइ छ । उनले भने, “यही अपेक्षालाई आम जनताले अनुमोदन गरेको मैले महसुस गरेको छु ।” पहिलेको भन्दा धेरै मतका साथ विजयी हुँदै गर्दा जिम्मेवारी थपिएको भन्दै उनले राजनीतिक निर्णय गर्दा आफू थप जिम्मेवार भएर सोचेर गर्नुपर्ने अवस्थामा आएको बताए ।