चिया दिवसमा ओझेल पारिएको ‘चिया पर्यटन’को मुद्दा - रुपान्तरण
 २०८१ बैशाख २५, मंगलबार    

चिया दिवसमा ओझेल पारिएको ‘चिया पर्यटन’को मुद्दा


काठमाडौं । राष्ट्रिय चिया दिवसका अवसर काठमाडौंमा बिहीबारदेखि अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजनामा बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय चौथो चिया महोत्सव सुरु भएको हो ।

महोत्सवको उद्घाटन कृषि,पशुपंक्षीमन्त्री डा.वेदुराम भुसाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवद्र्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय चिया महोत्सव गरिएको आयोजकले बताएको छ ।

महोत्सव बिहीबार काठमाडौंमा शुक्रबार र शनिबार इलाममा हुनेछ । चिया महोत्सवमा रुस, दुबई, चीन, अमेरिका, जापानका चिया व्यापारी सहभागी भएका छन् । विदेशी चिया व्यापारीलाई इलाममा स्थलगत भ्रमणसमेत गराउने आयोजकले जानकारी दिएको छ । १५ र १६ गते व्यापारीलाई चिया बगैंचा अवलोकन तथा फ्याक्ट्री भ्रमण गराउनका साथै चिया परीक्षणसमेत गराउने कार्यक्रम रहेको छ ।

आ.व. २०७८/०७९ को तथ्यांक अनुसार नेपालमा २० हजार २१९ हेक्टरमा चिया रोपण भएको र त्यसबाट २६ हजार ३७९ मेट्रिक्टन चिया उत्पादन भएको छ । अहिले १५ हजार बढी चिया कृषक र ६० हजार भन्दा बढी श्रमीकहरु चियाको विभिन्न मूल्य श्रृंखलामा संलग्न छन। गत आर्थिक वर्षमा ३ अर्ब ७९ करोड ७१ लाख मूल्य बराबरको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएकोमा आ.व.२०७८/०७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बराबरको १२ हजार ४९४ मेट्रिक्टन चिया निर्यात भएको छ ।

अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको चियालाई पर्यटनसँग जोडेर भने विकास हुन सकेको छैन । सरकारले चिया पर्यटनको अवधारणा अघि सार्न सकेको छैन । प्राकृतिक सुन्दरताका साथै हावापानी पनि उपयुक्त भएकाले इलाम, पाँचथर, धनकुट्टा, तेह्थुम, झापालगायत दोलखा, कास्की, लमजुङ, ललितपुर लगायतका जिल्ला चिया पर्यटनको उपयुक्त स्थानका रुपमा विकास गर्न प्रशस्त सम्भावना भएको क्षेत्र मानिन्छ । नेपालमा करिब १ सय ५० वर्ष पहिले सुरु गरिएको चिया खेती यतिवेला आर्थिक स्रोतका रुपमा विकसित हुँदै गइरहेको छ ।

चियापत्ती प्रशोधन गरेर वा हरियो पत्ती बेचेर आम्दानी गर्नुमात्र होइन कि पर्यटकलाई चियाबारी घुमाएर किसानै हातबाट चिया चखाएर आकर्षित गर्न सकिन्छ । नाङ्गा डाँडालाई सदुपयोग गरेर रोपिएको चियाका वुट्टाले मुना मात्र होइन प्राकृतिक सुन्दरतामा पनि निखार ल्याइदिएको छ । यसर्थ, चियाको स्वाद चखाएर, चियाबारीमै घुमाएर, चियाबारी भित्रकै घरमा बास गराएर, चिया कृषकले नै तयार पारेको हाते चिया उपहार प्रदान गरेर चिया पर्यटनलाई स्थापित गर्न सकिने भएपनि सरकारले यसतर्फ कुनै चासो देखाएको छैन ।

चियावारी भित्र रिसोर्ट, छोटो दुरीको पदमार्ग, होमस्टे चिया पर्यटनको अवधारणा भित्र समेट्न सकिने भएपनि चासोमा पर्ने गरेको छैन । विश्वका राष्ट्रहरुमा नेपाली चियाको गुणस्तर राम्रो भएकाले नेपाल आउन पर्यटकहरु उत्साहित छन् । पर्यटकले नेपालमा चिया खेतीको अवस्था, खेती गर्ने शैली, ऐतिहासिक प्रशोधन कारखाना, कारखानाको अवस्था, चिया उत्पादन गर्ने तरीका, किसानको जीवनस्तर लगायत यहाँको प्राकृतिक सुन्दरतामा विदेशी पर्यटकलाई आकर्षित गराउन सकिन्छ ।