पूर्वमन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी - रुपान्तरण
 २०८३ बैशाख १७, बिहीबार    

पूर्वमन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी


काठमाडौं । नक्कली भुटानी शरणार्थी गठी काण्डमा नेकपा एमालेका नेता तथा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

रायमाझीका छोरा सन्दीप पनि नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्य रहेको आरोप छ । सन्दीपलाई पनि पक्राउ गर्न प्रहरीले पुर्जी जारी गरेको छ ।

तर रायमाझीले आफूमाथिको आरोप सत्य नभएको बताएका छन्। उनले यो प्रकरणमा आफूलाई पनि जोड्ने कार्यलाई आफूमाथिको षडयन्त्र भएको प्रतिक्रिया दिए। तर कसले षडयन्त्र गरेको हुनसक्छ भन्ने विषयमा भने कतै लक्षित गरेनन्।

आफूले भुटानी शरणार्थीको समस्याको दीर्घकालीन हल हुनुपर्छ भनेर सहयोग गर्ने भनेको र सहयोग पनि गर्दै आएको तर गैरभुटानीलाई भुटानी बनाएर अमेरिका लैजाने विषयमा संलग्न नभएको बताए।

‘हामी त्यसमा अन्जान छौं। त्यसबारेमा त मलाई के थाहा हुन्छ र ? गैरभुटानीलाई भुटानी बनाउने र अमेरिका लैजाने काममा त सहयोग गर्ने कुरै भएन’, उनले भने।

आरोपित व्यक्तिसँग रायमाझीले घुमेको र खिचेको फोटो पनि सार्वजनिक भएको थियो। तर घुम्ने र फोटो खिच्ने विषयलाई भने उनले स्वाभाविक भएको प्रतिक्रिया दिए। ‘कुनै मान्छेसित फोटो खिचेको, घुमेको आधारमा जिम्मा लिने कुरा भएन’, उनले भने।

नक्कली शरणार्थी बनाएर पठाउने समूहले रायमाझीका छोराको नाममा काटिएको चेकको फोटो समेत सार्वजनिक भएको थियो। रायमाझीले भने आफ्नो छोराको नाममा काटिएको भनिएको चेकको प्रतिवाद गरे।

रायमाझी माओवादी छाडेर एमाले प्रवेश गरेका हुन्। अहिले माओवादी नेतृत्वमा सरकार छ। तर माओवादीले आफूमाथि बदला लिएको होला जस्तो नलाग्ने उनको भनाइ छ।