काठमाडौं । नेपाली कांग्रेसको कोटामा सरकारमा गएका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार उनीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
वुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । जसअनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू नियुक्त भएका थिए ।
उनीहरूले शपथ ग्रहण गरेका हुन् । कांग्रेसको भागमा आठ वटा मन्त्रालय रहेकामा यसअघि दुई चरणमा गरेर पाँच जनाले शपथ खाएका थिए । यो शपथसँगै कांग्रेसको कोटा सरकारमा पूरा भएको छ ।
शपथपछि नवनियुक्त कानून, न्याया तथा संसदीय मामिलामन्त्री गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
मन्त्रालयको जिम्मेवारी सम्हालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले कुनै पनि योजना अघि बढाउँदा त्यसको लागत किस्ताबन्दीमा के, कति भन्नेकुरा निकालेर मात्रै अघि बढ्ने बताए ।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् । पदभार ग्रहणपछि मन्त्री बस्नेतले नियमित सेवाका अलावा कोरोना, डेंगु लगायतका सरुवा रोग फैलिन नदिन प्रदेश र स्थानीय तहका साथै दातृ निकायको समन्वयमा स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् ।