काठमाडौं । पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौँ रुपैयाँ असुल गरेको आरोपमा पक्राउ परेका सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले बिहीबार प्रहरीलाई अनुमति दिएको हो ।
बुटवलमा बुधबार साँझ पक्राउ परेका उनलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । उनलाई बिहीबार नै बुटवलबाट काठमाडौं ल्याइएको थियो ।
सोही घटनामा पूर्वमन्त्री रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनी हिजो अर्घाखाँचीबाट काठमाडौं आउन बुटवल आएका भए पनि पक्राउ परिने भयले बुटवलबाट काठमाडौं आएका थिएनन् । तर केही संचारमाध्यमहरुले रायमाझी भैरहवाबाट पक्राउ परेको बताएका छन् । आधिकारिक पुष्टि भने भएको छैन ।
यद्यपि, पक्राउ पुर्जीको घट्नाले राजनीतिमा हलचल ल्याएको छ । नेताहरु कानूनी कारवाही र बचाउमा उत्रिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका सचिव एवं सांसद रायमाझीलाई पक्राउ पुर्जी जारी हुनु रहस्यमय रहेको प्रतिक्रिया र्दिएका छन् । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भएपनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी भएको उल्लेख गरे । उनले सचिव रायमाझीलाई तानेका हो वा तनाएको हो भन्ने बारेमा पार्टीले अध्ययन गरिरहेको र अध्ययनपछि मात्रै पार्टीले धारणा बनाउने बताए । उनले कुनैपनि बेला दोषी उम्किनु नहुने र निर्दोष फस्नु नहुने भन्दै फसाउने षड्यन्त्र रचिएको भए सह्य नहुने चेतावनी दिए ।
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग आफूले समसामयिक राजनीतिक विषयमा छलफल गरेको र सांसद रायमाझीलाई पक्राउ गरेको कुरामा पनि ध्यानाकर्षण गराएको उल्लेख गरे ।
बुधबार अदालतले पक्राउ पुर्जी जारी गर्दा रायमाझी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हीरक महोत्सव कार्यक्रममा थिए । कार्यक्रममै रहेका बेला रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको खबर सुनेपछि उनी कार्यक्रम छोट्याएर त्यहाँबाट बाहिरिएका थिए ।
अर्घाखाँचीको कार्यक्रम सकेर बुधबारै रायमाझी भैरहवा हुँदै काठमाडौँ फर्कने पूर्वनिर्धारित कार्यक्रम रहेको भएपनि उनले बुधबार बेलुका काठमाडौँ आउने प्लेनको टिकट रद्द गरेका थिए । प्रहरी स्रोतका अनुसार रायमाझीलाई बुधबारै पक्राउ गर्न लागिएको थियो । तर उच्च राजनीतिक दबाबकै कारण प्रहरी पछि हटेको थियो ।