‘बंक’ गर्ने सांसदका लागि ई–हाजिरीको तयारी - रुपान्तरण
 २०८३ बैशाख १७, बिहीबार    

‘बंक’ गर्ने सांसदका लागि ई–हाजिरीको तयारी


काठमाडौं । सभामुख देवराज घिमिरेले सांसदहरुको ईहाजिरी (विद्युतीय हारिजी)को व्यवस्था गर्न संघीय संसद सचिवालयलाई निर्देशन दिएका छन् । आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा उनले ईहाजिरीको तयारी गर्न र राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न संसद सचिवालयलाई निर्देशन दिएका हुन् ।

ईहाजिरी सुरु गर्ने र सभाका सदस्यहरुको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे भएको छलफलमा सभामुख घिमिरेले संसदमा सांसदहरुको उपस्थिति कमजोर भएको बताए । यसले सांसद तलबभत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ रहेको भन्दै उनले सांसदहरु बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराएका छन् ।

साथै बैठकमा उनले संसदीय सुनुवाई समितिसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्ने र समितिको नेतृत्व पनि यही बीचमा टुंगो लगाउनुपर्ने धारणा राखे । सदनमा सांसदहरुको अनुपस्थिति हुने गरेपछि यस पटक संसद सचिवालयले कडाइ गर्ने नीति लिएको हो । सांसदहरुको उपस्थिति न्यून हुने क्रम नरोकिएपछि प्रतिनिधिसभा बैठकमा ई–हाजिरीको व्यवस्था गर्ने विषयमा छलफल अघि बढेको हो ।

प्रतिनिधिसभा नियमावली २०७९ मा पनि सदस्यले विद्युतीय माध्यमबाट उपस्थिति जनाउन सक्ने प्रावधान उल्लेख गरिएको छ। जनताका कुरा सरकारसम्म र सरकारको कुरा जनतासम्म पुर्‍याउने जिम्मेवारीमा रहेका सांसदहरु अनुपस्थित रहने र बैठकहरूमा गणपूरक सङ्ख्या नपुगेकै कारण विधेयक अघि नबढेपछि संसद्मा सांसदहरूको उपस्थिति बढाउन जोड दिनुपर्ने स्थिति आएको हो ।

यससँगै प्रधानमन्त्री महिनामा एक पटक संसद्मा अनिवार्य उपस्थित हुनुपर्ने र सांसदहरूसँग प्रश्नोत्तर गर्नु पर्ने व्यवस्थाको माग गरिएको छ भने मन्त्रीहरुले शून्य समय र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने बताइएको छ ।