संसद बैठकमै अर्धनग्न बनेका अमरेशविरुद्ध अख्तियारमा उजुरी - रुपान्तरण
 २०८३ बैशाख १७, बिहीबार    

संसद बैठकमै अर्धनग्न बनेका अमरेशविरुद्ध अख्तियारमा उजुरी


काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसद्मा कपडा खोलेर विरोध जनाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुखले बोल्न नदिएको भन्दै स्वतन्त्र सांसद सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् ।

बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरे पनि सभामुखले दिएका थिएनन् । त्यसपछि उनले आफूले लगाएको सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् । संसद बैठकमा अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न चेतावनी दिए ।

सांसद सिंहको उक्त व्यवहारपछि नेकपा एमालेका सांसद अच्युत मैनालीले उनको स्वास्थ्य जाँचको माग गरेका छन् । त्यसपछि सांसद सिंह संसद बैठकबाट बाहिरिएका थिए ।

संसद बैठकमै अर्धनग्न बनेका सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आरजु देउवानिकट नेपाली कांग्रेसका नेता विकास ठाकुरले सिंहको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् । सिंहलाई पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

कांग्रेसमा राजनीति गरेका अमरेश २०६३ पछि मूलधारमा देखिन थालेका हुन् । त्यसयता उनले ठूलो आर्थिक फड्को मारेको र निर्वाचनमा मतदाता पनि किनेको दाबी उजुरीमा गरिएको छ । अमरेश राजनीतिक जीवनमा राजनीतिबाहेक अन्य पेसा वा व्यवसायमा संलग्न नभएको हुँदा अकुत सम्पत्ति जम्मा गरेको विषयमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न ठाकुरले माग गरेका छन्।

यस अगाडि नेपाली कांग्रेसबाट राजनीति गर्दै आइरहेका सिंह मंसिर ४ को निर्वाचनमा स्वतन्त्रबाट सर्लाही ४ बाट विजयी भएका थिए। पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्रबाट चुनाव लडेर जितेका हुन।