काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो भ्रष्टाचार काण्डलाई लिएर केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राखेका छन् । विहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु भएको बैठकमा ओलीले जुनसुकै व्यवस्थामा पनि भ्रष्टाचार हुन सक्ने बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी परेपछि अध्यक्ष ओलीले सबै व्यवस्थामा भ्रष्टाचार हुन सक्ने बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘गणतन्त्रमा भ्रष्टाचार हुन्छ । जुनसुकै प्रणालीमा पनि भ्रष्टाचार हुन सक्छ । यहाँ राजतन्त्रमा भ्रष्टाचार हुँदैन भन्ने भाष्य अर्को ढङ्गबाट स्थापित गर्न खोजिएको छ।’
प्रकरणमा मुछिएका एमाले सचिव रायमाझी फरार रहेका छन् । शरणार्थी प्रकरण बाहिरिएको बेला एमालेको यो बैठकमा ओलीले निष्पक्ष ढङ्गबाट भ्रष्टाचार गरेको थाहा पाउने बित्तिकै छानबिन गरेर कारबाही गर्नुपर्ने बताएका छन् । ओलीले भने, ‘ भ्रष्टाचार गरेमा थाहा पाउने बित्तिकै छानबिन गरेर कारबाही गर्नुपर्छ। हामीले सरकारलाई लगातार त्यही कुरा भनिरहेका छौं।’
ओलीले भ्रष्टाचारका दोषीलाई कारबाही गर्नेभन्दा कसलाई कसरी तेजोबध गर्न सकिन्न भन्ने चाल चल्ने काम भइरहेको आरोप समेत लगाए । ‘भ्रष्टाचारलाई निष्पक्ष ढङ्गले छानबिन गरेर दृढतापूर्वक दोषीमाथि कारबाही गर्न छाडेर कसरी कसलाई तेजोबध गर्न सकिन्छ भन्ने कुरा पनि चालेका छन् ।’
ओलीले रायमाझीलाई अहिले नै दोषी भन्न नमिल्ने बताएका छन् । उनले अदालती प्रक्रियाले मात्र दोषी करार गर्न सक्ने बताए । तर, अहिले नै अपराधी हो भनेर करार गर्न नसकिने उनले बताए ।
फरार रहेका एमाले सचिव रायमाझीलाई छानबिनमा सहयोग गर्न एमालेले निर्देशन दिएको छ तर अहिलेसम्म रायमाझीले फरार नै रहेका छन् । प्रकरणमा मुछिएपछि बुधबार एमालेले सचिवबाट रायमाझीलाई निलम्बन गरेको थियो।
ओलीले माओवादी शिविरमा भएको भ्रष्टाचारको छानबिन समेत गर्नुपर्ने बताए । उनले राज्यको ढुकुटी अनुचित ढङ्गले खल्तीमा हाल्नु पनि भ्रष्टाचार भएको बताए । उनले भने,‘राज्यको ढुकुटी अनुचित ढङ्गले खल्तीमा हाल्नु भनेको भ्रष्टाचार हो। जो सुकैले गरेको होस् । राज्यको अबौं हिनामिनाको अख्तियारले छानबिन गर्नुपर्छ। ’ तर लडाकु शिविरको विषयमा छानबिन गर्न अख्तियारले खुट्टा कमाइ रहेको छ ।
ओलीले आफ्नै पार्टीका नेता रायमाझीलाई पक्राउ गर्न सहयोग गर्नुको साटो माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने धारणा राखेका हुन् । उनले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग आयोगलाई आग्रह गरे ।
अयोग्य लडाकुलाई जनही दुई लाख बाँड्ने भनेर एकलौटी निर्णय गरेर अगाडि बढ्न खाजेको भन्दै उनले राज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्ने कार्य पनि भ्रष्टाचार नै भएको बताए ।
कर्मचारीलाई तलब खुवाउन गाह्रो पर्ने अवस्थामा अयोग्य लडाकुलाई दुई लाख बाँड्ने निर्णय पनि भ्रष्टाचार भएको ओलीको भनाइ छ । उनका अनुसार सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्रका नेताहरुले माओवादी लडाकुलाई दिने भनेर निर्णय गर्ने र त्यो रकम आफैँ राख्ने कार्य यसअघि लडाकु शिविरमा भएको छ । लडाकु शिविरको नाममा नभएका नभएका व्यक्तिको नाममा अर्बौं पैसा घोटाला भएको अध्यक्ष ओलीको आरोप छ