सांसद टोपबहादुर रायमाझी पासीकोटबाट पक्राउ - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

सांसद टोपबहादुर रायमाझी पासीकोटबाट पक्राउ


काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठ पासीकोटको एक घरबाट पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रायमाझीलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । आइतबार साँझ उनलाई बूढानीलकण्ठको पासीकोटबाट नियन्त्रणमा लिइएको गृह मन्त्रालयले जनाएको छ ।

हिजो राति काठमाडौं छिरेको सूचना पाएको प्रहरीले आज साँझ सफलता हासिल गरेको हो । रायमाझीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको थियो । सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई प्रहरीले पक्राउ गरिसकेको छ । खाँणलाई प्रहरी प्रधान कार्यालयको विशेष व्यूरोको टोलीले पक्राउ गरेको हो ।

यसअघि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा प्रहरीले अदालतमा मुद्धा बुझाउने तयारी गरे पनि रायमाझी फरार भएसँगै प्रहरीलाई समस्या भएको थियो ।

उनको खोजीका लागि ७७ जिल्लाका प्रहरी सक्रिय भए पनि फेला नपर्नु र एमालेका जनवर्गीय संगठनले पनि कही कतै फेला परेको जानकारी नगराउनु मात्र होइन सीआईबीको टोलीले उनलाई फेला पार्न सकेको थिएन । रायमाझीको खोजी गर्न नेपाल–भारत सीमा क्षेत्रमा पुगेको टोलीले पनि कुनै सुराक फेला पारेको थिएन ।

सरकारी वकिल कार्यालयले आजको चार दिनपछि मुद्धा ल्याउन प्रहरीलाई निर्देशन दिइसक्दा पनि उनी फेला नपर्नुले उनी कतै नेपालभित्रै लुकेका छन् कि भन्ने आशंका पैदा भएको थियो । नभन्दै उनी काठमाडौंबाटै पक्राउ परेका हुन् ।

रायमाझी भैरहवाबाट काठमाडौं आउन लागेका बेला बैशाख २० गते रातिबाट सम्पर्कविहीन भएपछि भारतको लखनउ र गोरखपुरमा पुगेको जानकारी प्रहरीलाई थियो ।

तर प्रहरीले भारतीय प्रहरीसँग समन्वय गर्दा उनी फेला नपरेपछि भने नेपालभित्रै खोजी जारी राखेको थियो । सीआईबीले कुनै सुराकी पाइन्छ कि भनेर संसदमा ईमेलमार्फत आएको पत्र प्रिन्ट गरेर जाने व्यक्तिको खोजीका लागि पनि सीसीटीभी फुटेज समेत लिएर गएको थियो ।

रायमाझी शुरुमा लखनउ र गोरखपुर बसेको र पछि दिल्ली पुगेको सूचना पाएपछि सीआईबीको टोली भारतीय प्रहरीको समन्वयमा नेपाल भारत सीमामा पुगेको थियो । भारतीय दूतावासमार्फत् रायमाझीलाई काठमाडौं ल्याउन सहयोग माग्दै सीमा क्षेत्रमा पुगेको थियो । तर प्रहरीले कुनै प्रगति हासिल गर्न सकेको थिएन ।

बैशाख २० गते अर्घाखाँचीको कार्यक्रम सकेर उनी त्यसै दिन राति काठमाडौं आउने तयारीमा थिए । सोही अनुसार उनले भैरहवाबाट काठमाडौं आउनका लागि हवाई टिकटसमेत काटेका थिए । तर छोरा पक्राउ परेको जानकारी पाएपछि उनी एकाएक सम्पर्कविहीन भए । सम्पर्कविहीन हुनुअघि रायमाझीले प्रहरी नेतृत्वसँग सम्पर्क गर्दै आफू प्रहरीसामू उपस्थित हुने बताएका थिए ।

रायमाझीले आफैँ उपस्थित हुन्छु भनेपछि प्रहरीले तत्कालै पक्राउ गर्ने तदरुकता देखाएन । उनी सम्पर्कविहीन हुनुअघि एमालेको शीर्ष तहसँग सम्पर्कमा रहेको प्रहरी स्रोतले जनाएको छ । यो प्रकरणमा रायमाझीसहित अहिलेसम्म १३ जना पक्राउ परेका छन् । कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँड, उनका सहयोगी नरेन्द्र केसी, काठमाडौंको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी पक्राउ परेका छन् ।

यस्तै रायमाझीका छोरा सन्दीप, सरकारका सचिव टेकनारायण पाण्डे, एमाले नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई गरी १२ जना अहिले हिरासतमा छन् ।

सो प्रकरणमा मुछिएर पक्राउ पूर्जी जारी भएका तीन जना अझै फरार रहेका छन् । इन्द्रजित राईका छोरा निरज, कांग्रेस नेता आङटावा शेर्पा, रामबहादुर थापा बादलका छोरा प्रतिक थापा फरार भएका हुन् ।