मदन भण्डारी हत्याको रहस्य समय क्रममा खुल्ने दावी - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

मदन भण्डारी हत्याको रहस्य समय क्रममा खुल्ने दावी


काठमाडौं । जननेता मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस मनाइँदैछ । तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।

हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरी मदन–आश्रित स्मृति दिवस मनाइँदै आएको छ । रहस्यमय जीप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक पटक आलोचना हुँदै आएको छ । दिवसका अवसरमा मंगलबार दासढुङ्गामा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । नेकपा एमाले चितवनले नेताद्वयको स्मृतिमा कार्यक्रम आयोजना गरेको हो ।

त्यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको शालिकमा माल्यार्पण गरेकी छन् । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको शालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन ।

मदन भण्डारीकी धर्मपत्नीसमेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले स्मृति दिवसका अवसरमा तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गरेकी थिइन । यसैगरी पूर्वराष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत अवलोकन गरिन ।

यता, अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याको रहस्य समय क्रममा खुल्ने दावी गरे । मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेको पुरानो मूख्यालय बल्खुमा बुधबार आयोजित कार्यक्रममा ओलीले हत्याको सत्यतथ्य खुल्ने दावी गरेका हुन् ।

कांग्रेस नेता उमेश गिरीले मदन भण्डारीको हत्या सन्दर्भमा दिएको अन्तवार्ता उल्लेख गर्दै उनले मदन भण्डारीको हत्या गर्ने जिम्मा आफूलाई दिइएको र त्यो नमानेको बताएको उल्लेख गररे । गिरिले नामै तोकेर बोलेको भन्दै समय क्रममा त्यसको खोजी हुने र सत्यतथ्य बाहिर आउने जिकीर गरे ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई समाप्त गर्न कम्युनिष्ट आन्दोलन विसर्जनवादतर्फ उन्मुख भएकाले लोकतान्त्रिक माध्यमबाट सामाजिक न्यायसहितको समाजवादको आधार निर्माण गर्ने उद्देश्यले पार्टी पुनर्गठन गरिएको बताए ।

पुष्पलाल श्रेष्ठले कोरेको जनवादी क्रान्तिको रुपरेखाको उत्तराधिकार ग्रहण गर्दै एकीकृत समाजवादीले यस क्रान्तिलाई उच्चतम लक्ष्यसम्म पुर्‍याउने सङ्कल्प गरिएको विज्ञप्तिमा उल्लेख छ ।