रेशमलाई जन्मकैदको फैसलापछि नागरिक उन्मुक्ति पार्टी आन्दोलनमा - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

रेशमलाई जन्मकैदको फैसलापछि नागरिक उन्मुक्ति पार्टी आन्दोलनमा


काठमाडौं । सत्तारुढ नागरिक उन्मुक्ति पार्टीले सरकारविरुद्ध पाँच दिने नेपाल बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । पार्टीका संस्थापक रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको आदेश आएको भोलीपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्ने हो भने हामीहरुसँग आन्दोलन गर्नुको विकल्प नरहेको पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बताए । आन्दोलनको कार्यक्रम अन्तरगत आजैबाट ३ दिन देशव्यापी रुपमा राँके जुलुश र कोणसभा आयोजना गरिने छ ।

राजनीतिक घटनालाई अपराध करार गर्ने काम गरेकाले त्यसको बिरोधमा जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द आह्वान गर्ने पनि वरिष्ठ उपाध्यक्ष पण्डितले जानकारी दिए । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना राजनीतिक घटना भएकाले त्यसको समाधान राजनीतिक रुपमानै हुनुपर्ने जिकीर गर्दै आएको छ ।

तर यता, टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्दै पुनरावलोकनको बाटो खुला रहेको बताएका छन् ।

जिल्ला अदालत र उच्च अदालतको चौधरीलाई जन्मकैदको सजायलाई सदर गर्ने मंगलबारको सर्वोच्च अदालतको फैसला स्वीकार्दै उनले पुनरावलोकनको बाटो पनि खुला रहेको प्रतिक्रिया दिएका हुन् । डिल्लीबजार कारागारमा रहेका चौधरीले बुधबार विज्ञप्ति जारी गरेर अदालतको आदेश स्वीकार्ने भन्दै सामाजिक सञ्जालमा टीकापुर घटनाको विषयमा अनर्गल रुपमा जथाभावी पोष्ट नगर्न पनि आग्रह गरेका छन् ।

डिल्लीबजार कारागारमा कैदी जीवन बिताइरहेका चौधरीले जनताले न्याय दिएपनि अदालतले न्याय दिन नसकेको पनि बताए । उनले भने, ‘पहिलोपटक म आफैँ निर्वाचित भएँ, त्यो पनि संघीय सांसदमा । मलाई कति प्रतिशत जनताले भोट दिएका थिए हेरे हुन्छ । त्यसपछि स्थानीय निर्वाचन र प्रदेश तथा संघीय निर्वाचनमा म संलग्न रहेको पार्टीलाई दिएको मत हेरे हुन्छ । यसको अर्थ जनताले मलाई बुझेका छन्, जनताबाट मलाई न्याय भएको छ । तर अदालतबाट भने मलाई न्याय हुन सकेन ।’