सुनको जलहरी घट्नाले तात्यो सदन - रुपान्तरण
 २०८३ बैशाख १७, बिहीबार    

सुनको जलहरी घट्नाले तात्यो सदन


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद राजन (लेखनाथ) दाहालले पशुपतिको जलहरीको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् । शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएको कुरा आएको भन्दै सो विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।

उनले आफूले जलहरीको कुरामात्रै संसदमा नउठाएको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा भएका भ्रष्टचारका विषयहरु उठाएको र तत्कालिन प्रधानमन्त्रीको हैसियतले ओलीले जिम्मेवारी लिनुपर्ने भनेको बताए । आफूले ओलीलाई व्यक्तिगत रुपमा किटान नगरेको उनको भनाई छ ।

उनले भने – ‘पशुपतिनाथमा जलहरी लाउँदा सुन भनेर पित्तल लगाएको काण्ड, ११ किलो सुन कम भएको महालेखाको प्रतिवेदनमा पनि आएको छ । महालेखाको प्रतिवेदनमा पनि के देखिन्छ भने त्यहाँ हिसाव प्रष्ट नभएको, सुन कम भएको, ज्याला दिएको पनि कुनै लेखांकन नभएको भनेर प्रतिवेदन दिएको तथ्यको आधारमा उहाँको सरकारको पालामा भएको भ्रष्टाचारका काण्डहरु किन नियन्त्रण गर्न सक्नुभएन यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीको हैसियतले तपाइले लिनुपर्छ कि पर्दैन भन्ने सन्दर्भमा बोलेको कुरालाई उहाँहरुले अनावश्यक इस्यु उठाइरहनुभएको छ मेरो गम्भिरतापूर्वक माग के छ भने संसदीय छानविन समिति गठन गरौँ ।’

यता, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सुनको जलहरी हो, होइन दूधको दूध पानीको पानी हुने गरी छानबिन हुनुपर्ने बताएका छन् । पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषयमा सरकारले जवाफ माग गर्दै उनले यस्तो बताएका हुन् । सत्तापक्षका सांसदले आफूहरूलाई सुनको जलहरीको सट्टा पित्तलको चढाएर भ्रष्टाचार गरेको भनी गम्भीर आरोप लगाएको भन्दै दुःख व्यक्त गरे । सुनको जलहरी हो, होइन दूधको दूध पानीको पानी हुने गरी छानबिन गर्न उनले माग गरे ।

२०७७ फागुन १२ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथमा ९६ किलोको जलहरी राखेका थियो । १०८ केजी सुनको जलहरी बनाउने निर्णय अनुसार काम भएको थियो। बाँकी १२ किलो सुन पछि थप्ने घोषणा गरियो। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी अनावरण गरिन्। तर पशुपतिनाथमा सुनको जलहरी नराखिएको भन्दै विरोध भयो।

महालेखापरीक्षकको ५९औं वार्षिक प्रतिवेदन २०७९ मा ‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरेको र विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको’ उल्लेख छ।

‘रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रू.७ करोड ८६ लाख ४६ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ। गर्भगृहमा पुजिने शिवलिंग राखिने जलहरी त्यसबेला सरकारले सुनको बनाइने भएको थियो । यसअघि जलहरी चाँदीको थियो । चाँदीको जलहरी जीर्ण भएर चारैतिरबाट चुहिने भएपछि नयाँ बनाउने क्रममा पशुपति विकास कोषले सुनको बनाएको हो । ८० करोड रुपैयाँ खर्च लागेको कोषले बताए पनि महालेखाको प्रतिवेदनले भने करोडौँ रुपैयाँको सुन हराएको आशंका गरेको थियो ।