रेशम चौधरीलाई आममाफी दिने तयारी विफल ! - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

रेशम चौधरीलाई आममाफी दिने तयारी विफल !


काठमाडौं । राष्ट्रपति कार्यालयले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृह मन्त्रालयमा फिर्ता पठाएको छ ।

सात जना सुरक्षाकर्मी र एक बालकको ज्यान जाने गरी भएको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो । तर शुक्रबार उक्त प्रस्तावलाई राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठाएको हो । २०७२ भदौ ७ गते टीकापुरमा घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहितको हत्या भएको थियो ।

यसअघि चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी निरीक्षककी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेकी थिइन । टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन ।

सरकारले पूर्व सांसद रमेत रहेका रेशम बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर बाहिरिएपछि बोहरा निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेकी थिइन । सरकारले आगामी सोमबार गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिने तयारी सुरु गरेको खबर बाहिरिएको थियो । २०७४ फागुन १५ देखि थुनामा रहेका चौधरीले अदालतको फैसला अनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्ने हुन्छ ।

२०७२ भदौ ७ मा कैलालीको टिकापुरमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमणबाट प्रहरी निरीक्षक बोहराले ज्यान गुमाएका थिए । टिकापुरमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालकको हत्या भएको थियो । प्रदर्शनको नेतृत्व चौधरीले गरेका थिए । राजनीतिको खास्टो ओढाएर अपराधीलाई माफी मिनाहा गरेर राजनीतिलाई नै अपराधीकरणसँग मितेरी नगाँस्न बोहराले निवेदनमा आग्रह गरेकी थिइन ।