रेशम चौधरीलाई आममाफी, विरोध शुरु - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

रेशम चौधरीलाई आममाफी, विरोध शुरु


 काठमाडौं । सरकारले रेशमलाल चौधरीलगायतका कैदीहरुलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो।

मन्त्रीपरिषद्ले ५० प्रतिशत सजाय कटाइ सजाय माफी मिनाहाको निवेदन दिएका रेशमलाल चौधरी लगायतका कैदीहरुलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफी मिनाहाका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

तर यता चौधरी रिहाइको निर्णयको विरोध शुरु भएको छ । सत्ता यात्रामा रहेका दलहरुले उक्त टीकपुर घटनालाई राजनीतिक मुद्दा भनेका छन् । गणतन्त्र दिवसका अवसरमा टीकापुर घटनाका दोषीको सजाय माफ गर्न खोजेको घटनाको भत्र्सना गर्दै दण्डहीनतालाई प्रश्रय दिने त्यस्तो कार्य नगर्न इन्सेकले माग गरेको छ। इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालद्वारा जेठ १४ गते जारी प्रेस विज्ञप्तिमार्फत् यस्तो माग गरिएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्र दिवसका अवसरमा आममाफी दिन गृह मन्त्रालयले ज्यान मुद्दामा आरोप प्रमाणित भई जेलमा रहेका रेशम चौधरीको नाम सिफारिस गरेर जघन्य अपराधका घटनामा दोषी सावित भइसकेका कुनै पनि व्यक्तिलाई आममाफी दिनु हुँदैन भन्ने न्यायको सर्वमान्य मान्यतालाई लत्याएको छ।’

तर राष्ट्रपति कार्यालयले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृह मन्त्रालयमा फिर्ता पठाएको थियो । सात जना सुरक्षाकर्मी र एक बालकको ज्यान जाने गरी भएको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो । तर शुक्रबार उक्त प्रस्तावलाई राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठाएको हो ।

यसअघि चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी निरीक्षककी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेकी थिइन । टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन ।

सरकारले पूर्व सांसद समेत रहेका रेशम बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर बाहिरिएपछि बोहरा निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेकी थिइन । सरकारले आगामी सोमबार गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिने तयारी सुरु गरेको खबर बाहिरिएको थियो । २०७४ फागुन १५ देखि थुनामा रहेका चौधरीले अदालतको फैसला अनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्ने हुन्छ ।

२०७२ भदौ ७ मा कैलालीको टिकापुरमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमणबाट प्रहरी निरीक्षक बोहराले ज्यान गुमाएका थिए । टिकापुरमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालकको हत्या भएको थियो । प्रदर्शनको नेतृत्व चौधरीले गरेका थिए । राजनीतिको खास्टो ओढाएर अपराधीलाई माफी मिनाहा गरेर राजनीतिलाई नै अपराधीकरणसँग मितेरी नगाँस्न बोहराले निवेदनमा आग्रह गरेकी थिइन ।