नागरिकता विधेयक प्रमाणीकरणले एनआरएनएमा खुशीयाली - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

नागरिकता विधेयक प्रमाणीकरणले एनआरएनएमा खुशीयाली


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गरेसँगै गैर आवसीय नेपालीहरुलाई नागरिकता लिने बाटो खुलेको छ । विधेयक प्रमाणीकरणले गैर आवासीय नेपालीहरूलाई दोहोरो नागरिकता राख्ने सुविधाको लागि बाटो खुलेको हो ।

अघिल्लो संघीय संसद्‍बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । दक्षिण एसियाबाहेक अन्य देशमा बसोबास गर्ने नेपाली नागरिकता त्यागेर विदेशमा बसेका व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता पाउने भएका हुन् ।

एनआरएनएका अध्यक्ष कुल आचार्यले विधेयक प्रमाणीकरण भएकोप्रति खुशी ब्यक्त गरेका छन् । आचार्य कार्यकारी अध्यक्ष रहँदा विधेयक प्रमाणीकरणका लागि पटक पटक सरकार तथा दलका प्रतिनिधिहरुसँग भेटेर पहल गरेका थिए । प्रमाणीकरण हुनसाथ आचार्य प्रतिक्रिया दिंदै हाम्रो लामो मेहनत र अनवरत प्रयासपछि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट संसदले दुइ, दुइ पटक पारित गरेर पठाएको नागरिकता विधेयक अनुमोदन गरि दिनु भएकोमा साह्रै खुसी लागेको बताएका छन् ।

अध्यक्ष आचार्यले भनेका छन्,‘नेपालको संविधान जारी भएको झन्डै आठ वर्षपछि अब गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने बाटो खुला भएको छ। यसका लागि सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्ड ज्यू, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाज्यू, नेपाल सरकार, सबै राजनीतिक दलहरू, माननीय सांसदज्यूहरु सहित सम्बन्धित सबैप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। गत वर्ष नयाँ कार्य समिति गठन भए यता हामीहरुले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि सक्दो प्रयास गरेको सबै साथीहरुलाई अवगत नै छ। अब विना कुनै वाधा अवरोध यो कानून कार्यान्वयनका लागि आआफ्नो ठाउंबाट सकारात्मक भूमिका निर्वाह गर्न म सबै मित्रहरुलाई आग्रह गर्दछु।’

यसअघि आचार्यले बैशाख दोस्रो साता बेलायतमा आयोजित एक कार्यक्रममा अब तीन महिनाभित्रै गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउने गरी आफूहरूले काम गरिरहेको बताएका थिए । उनले गैरआवासीय नेपाली नागरिकता विधेयक पारित नभएकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर स्मरण गराएको जानकारी दिएका थिए । ‘मैले प्रधानमन्त्रीज्यूसँग सशक्त रुपमा एनआरएनए नागरिकता विधेयक पारितका लागि प्रक्रिया बढाउन माग गरेको छु । उहाँले मलाई तीन महिना समय दिनु भन्नुभएको छ,’ अध्यक्ष आचार्यले भनेका थिए ।

विधेयक प्रमाणीकरणपछि गैर आवासीय नागरिकताले भोट दिन, चुनाव लड्न, पासपोर्ट बनाउन नपाए पनि सम्पत्ति राख्न, व्यापार व्यवसायमा लगानी गर्न पाउने व्यवस्था हुने बताइएको छ । गैरआवासीय नेपालीहरुका अधिकारहरुका बारेमा भने एनआरएनए ऐनले छुट्टै व्याख्या गर्ने बताइएको छ ।

 

"