कोशीमा अध्यादेशमार्फत बजेट, ३६ अर्ब २४ करोड विनियोजन - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

कोशीमा अध्यादेशमार्फत बजेट, ३६ अर्ब २४ करोड विनियोजन


काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्रीसमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अपरान्ह बजेट प्रस्तुत गरेका हुन् ।

बुधबारको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको सरकारले चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएको हो । प्रस्तुत बजेटमध्ये १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार चालू तर्फ विनियोजन गरिएको छ । यस्तै, पूँजीगत तर्फ १८ अर्ब २३ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

त्यसअघि, प्रदेश प्रमुख परशुराम खापुङले दुईवटा अध्यादेश जारी गरेका थिए । प्रदेश मन्त्रिपरिषदको बैठकको सिफारिसमा सरकारको बजेट ल्याउन प्रदेश प्रमुखले आर्थिक र विनियोजन अध्यादेश, २०८० जारी गरेका थिए । नेपालको संविधानको धारा २०२ को उपधारा ९१० बमोजिम प्रदेश प्रमुखबाट आर्थिक र विनियोजन अध्यादेश, २०८० जारी भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जनाए ।

बुधबार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका थिए । तर, कोशीमा वर्तमान सरकार अल्पमतमा रहेका कारण नीति तथा कार्यक्रम पास नहुने देखेपछि बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकको सिफारिसमा प्रदेश प्रमुखले चालु अधिवेशन अन्त्य गरेका थिए ।

अल्पमतको सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि पारित हुने अवस्था नभएपछि अध्यादेशको बाटोबाट सरकारले बजेट ल्याउन लागेको हो । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।