विराटनगर । कोशी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढलेको छ । एमालेबाट मुख्यमन्त्री भएका हिक्मतकुमार कार्कीले कोशी प्रदेश सभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएसँगै कार्की नेतृत्वको सरकार ढलेको हो ।
विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । बहुमत पूरा गर्न नसकेसँगै १७४ दिनपछि मुख्यमन्त्री कार्की बाहिरिएका छन् । शुक्रबारको प्रदेश सभामा ८९ सांसद उपस्थित भएका हुन् ।
कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले भोट हाले । विपक्षमा गठबन्धन दलमा रहेका कांग्रेसका २९, माओवादीका १२ र नेकपा एसका ४ प्रदेशसभा सदस्यले मत हालेका छन् । गठबन्धन घटकमा रहेको जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा उपस्थित भइनन् ।
अब नयाँ सरकार गठनका लागि संविधानको धारा १६३ को (३) प्रयोग गर्ने विषयमा छलफल भइरहेको छ । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशप्रमुखसँग संविधानको धारा १६८ को कुन धारा प्रयोग गरेर सरकार गठन गर्ने भन्ने विषयमा परामर्श गर्ने बताए ।
एमालेले भने प्रदेशसभामा कुनै पनि दलसँग बहुमत नभएको र बहुमत लिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको सरकार पनि ढलेको अवस्थामा अब संविधानको धारा १६८ को उपधारा (३) अन्तर्गत प्रदेशसभामा रहेको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठनको आह्वान गर्नुपर्नेमा जोड दिएको छ ।