काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल लेसरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलबाट गरिएको भ्रामक, आपत्तिजनक, प्रचारवाजीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बिहीबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षको गलत चाहना पूरा गर्ने अभिष्टताबाहेक केही नभएको बताएका छन् ।
सरदार प्रितम सिंह र प्रधानमन्त्री दाहालका बीचमा औपचारिक मात्र होइन भावनात्मकरुपमा समेत प्रगाढ सम्बन्ध रहँदै आएको तथ्य सार्वजनिक भइसकेको उपाध्यक्ष महराले स्पष्ट पारे । सोही पृष्ठभूमिमा सरदार सिंहबाट आफूलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहेको र त्यसको लागि उनले सक्दो योगदान गरेको यथार्थता प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटकपटक संसद् विघटन गर्ने, जनताका मुद्दामा कानुन बनाउन खोज्दा संसद् अवरोध गर्ने, भ्रष्टाचारीको छानविन र फाइल खोल्दा गैरजिम्मेवार बन्ने जस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘पानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति फेरि पनि ‘के निउ पाऊँ, कनिका बुकाऊँ’ भने जस्तै भ्रामक र दुराशययुक्त प्रचारबाजीमा उत्रिएर गरिएका हर्कतप्रति माओवादीले भत्र्सना गरेको छ । राष्ट्रियता, गणतन्त्र र जनजीविकाका पक्षमा दृढतापूर्वक उभिन पार्टीपङ्क्ति र जनसमुदायमा प्रवक्ता महराले आग्रह गरेका छन् ।
त्यस्तै दाहाललाई आफ्नो अभिव्यक्तिबारे संसद्मा बोल्ने मौकासमेत नदिई एकपक्षीय रूपमा प्रचारप्रसार गरिएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले पनि आपत्ति जनाएको छ । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले बिहीबार प्रेस नोट जारी गर्दै संसद्प्रति जवाफदेही प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न नदिई भनाइको आशयविपरीत प्रचार गर्नु दुर्भाग्यपूर्ण भएको बताए । प्रेस सल्लाहकार आचार्यले व्यवसायी प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरिएको दाबी गरे ।
दाहालले २०८० असार १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । सिंहसँग दाहालको पारिवारिक सम्बन्ध रहेको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । पुस्तक विमोचनको प्रसंगलाई लिएर प्रमुख प्रतिपक्षी दलले नियोजित रूपमा संसद् अवरोध गर्दा मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक संसद्बाट पारित नभई निस्क्रिय भएको आचार्यको भनाइ छ ।
विधेयक पारित हुन नसक्दा मिटरब्याजपीडित लाखौं नेपाली किसानहरूको न्यायप्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको भन्दै प्रधानमन्त्रीको सचिवालयले दुःख व्यक्त गरेको छ । सल्लाहकार आचार्यले प्रधानमन्त्री दाहालको राजीनामा माग्नु ‘संकुचित राजनीतिक मानसिकता’ भएको उल्लेख गर्दै यसले सरकारले चालेका कदमको विरोध र सिंगो संसद्कै अपमान हुने समेत बताए ।