कांग्रेस जिल्ला सभापतिका गुनासै गुनासा - रुपान्तरण
 २०८३ बैशाख १७, बिहीबार    

कांग्रेस जिल्ला सभापतिका गुनासै गुनासा


काठमाडौँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरू पार्टी मुख्यालय सानेपा वीपीनगरमा भेला भएका छन् । उनीहरु कांग्रेसको विगतको समीक्षा र भविष्यको योजना बनाउन केन्द्रीत छन् । बैठकमा ४२ जिल्लाका जिल्ला सभापतिहरुसहित अन्य १८ जना केन्द्रीय र प्रदेशका प्रतिनिधिहरु सहभागी रहेका छन् ।

पार्टीको पछिल्लो १४ औं महाधिवेशनपछि पहिलो पटक कांग्रेसले जिल्ला सभापतिहरूसँग बैठक आयोजना गरेको हो । बैठकमा पार्टी सदस्यता, जिल्ला समितिमा देखिएका विवाद र समस्यालगायत केन्द्रीय समितिलाई सुझाव माग गरिएको छ । तर पार्टीको कार्यशैली र सरकार संचालनप्रति उनीहरुको तिब्र असन्तुष्टी छ ।

विहीबारको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफ्नो धारणा राखेका थिए भने बाँकीले शुक्रबार पनि सभापतिहरुले धारणा राखेका छन् । जिल्ला सभापतिहरूले धारणा सुनेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफ दिने तथा पार्टीको निर्देशन दिने कार्यक्रम रहेको छ ।


जिल्ला सभापतिहरुले सरकारमा सहभागी आफ्नै पार्टीका मन्त्रीहरुको चर्को आलोचना गरेका छन् । विशेषगरी अर्थमन्त्री डा. प्रकाशशरण महतको चर्को आलोचना भएको हो । बिहीबार बोल्ने धेरैजसो जिल्ला सभापतिहरुले आफ्नो जिल्लामा बजेट नदिँदा कुन मुख लिएर मतदाता सामु जाने भन्दै आक्रोश पोखेका थिए ।

आगामी आर्थिक वर्षको बजेटका बारेमा बोल्ने क्रममा जिल्ला सभापतिहरुले अर्थमन्त्रीले बजेटमा गरेको मनोमानीप्रति आक्रोश पोखेका हुन् । उनीहरुले आफ्नै दलका अर्थमन्त्री भए पनि आफूहरुको जिल्लालाई बेवास्ता गरिएको भन्दै गम्भीर आपत्ति जनाएको सहभागी एक जिल्ला सभापतिले भने ।

सहभागी अधिकांश जिल्ला सभापतिहरुले आगामी आर्थिक वर्षको बजेटमा आपत्ति जनाएका हुन् । अर्थमन्त्री महतले आफ्नो जिल्लालाई बढी ध्यान दिएको र केही तीन चार वटा जिल्लामा मात्रै पैसा खन्याए पनि अन्य जिल्लाहरुमा बेवास्ता गरेको भन्दै आक्रोश पोखेका हुन् ।

सो क्रममा युवा तथा खेलकुद मन्त्रीसमेत रहेका सांसद एवं मोरङका जिल्ला सभापति डिकबहादुर लिम्बूले अर्थमन्त्रीले गुट नमिलेका कारण बजेट कटाएको आरोप लगाए । उनले मन्त्रीहरुबीच नै समन्वय नभएको भन्दै बजेटमा ठूलो असन्तुष्टि रहेको सुनाएको सहभागी ती जिल्ला सभापतिले भने ।

उनले आफू मन्त्री हुँदा पनि जिल्लामा बजेट लैजान नसकेकोमा दुखेसो पोखेका हुन् । त्यस्तै धादिङ जिल्ला सभापति एवं सांसद रामनाथ अधिकारीले पनि जिल्लाले बजेट नपाएको भन्दै आफू कुन मुख लिएर जिल्ला जाने भन्दै दुःख व्यक्त गरेका थिए ।

उनले बजेट आएपछि जनतामा निराशा छाएको उल्लेख गर्दै भने, ‘ बजेटमा पक्षपात छ । ९० किलोमिटर बाटोको लागि बजेट ५ लाख विनियोजन भयो ।’

दोलखा जिल्ला सभापति बर्मा लामाले पनि बजेटमा स्वेच्छाचारी गरेको आरोप लगाए । अर्घाखाँची जिल्ला सभापति केशव श्रेष्ठले अर्थमन्त्रीले भेटसमेत नदिएकोमा गुनासो गरे । उनले भने, ‘पशुपतिको साँढे जस्तो भएर मन्त्री बसेका छन् ।’

त्यस्तै अछामका जिल्ला सभापति पुष्पबहादुर शाहले पनि केन्द्र र प्रदेश दुवैतिर मन्त्रीहरुले बजेट एकलौटी गर्दा जिल्ला जाने अवस्था नभएको भन्दै आक्रोश पोखे ।

त्यस्तै बाजुरा जिल्ला सभापति रामसिंह रावलले पनि बजेटको विषयमा असन्तुष्टि जनाएका छन् । उनले कारबाही सिफारिसमा परेकालाई कि आममाफी दिनुपर्यो कि कारबाही गर्नुपर्यो भनी नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । केही जिल्ला सभपातिले पार्टीको स्थिति कमजोर हुँदै गइरहेको भन्दै सशक्तता दिन पनि माग गरेका छन् ।

बैठकमा पार्टी रुपान्तरणका कुरासमेत भएका छन् । महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले डाकेको बैठकमा रुपान्तरणको खाका के हो भनी सोधिएको थियो । काँग्रेस चलायमान नभएको भन्दै गगन थापाले नै यो बैठक बोलाएका हुन् । यो बैठक बस्ने भएसँगै काँग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुलाई बोलाएर आगामी २७ गते केन्द्रीय कार्यसमिति बैठक डाक्ने निर्णय गरेका छन् ।

पटक पटक बैठक डाक्नका लागि महामन्त्री थापाले आग्रह गर्दासमेत देउवाले बेवास्ता गरेपछि जिल्ला सभापतिहरुलाई छलफलमा डाकेका हुन् । उनले सभापतिहरुलाई जिल्लाको क्रियाशील सदस्यतादेखि नवीकरण र अभिलेखीकरणको सम्पूर्ण विवरण पेश गर्नसमेत पत्र काटेका थिए ।

महामन्त्रीद्धयको यो कदमले शान्त भएर बसिरहेको नेतृत्वलाई भने झक्झक्याएको छ । अहिलेकै शैलीमा जाने हो भने २०८४ मा पार्टीको अवस्था अझ खस्कने भन्दै गगनले जसरी पनि काँग्रेसलाई रुपान्तरण गरेरै छाड्ने दृढता व्यक्त गर्दै आएका छन् । भेला भएका कांग्रेसका सभापतिहरूले पार्टी र सरकारबीच समन्वयको अभाव रहेको गुनासो पनि गरेका छन् । पार्टी गतिविधि शिथिल बन्दै गएको र त्यसबाट कांग्रेसमाथि चुनौती थपिएको जिल्ला सभापतिहरूको भनाइ छ ।