काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डले नैतिकताका अधारमा राजीनामा दिनुपर्ने बताए । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले गत हप्ता प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति राष्ट्रियतासँग जोडिएको भन्दै राजीनामा दिनुपर्ने बताएका हुन् ।
लिङदेनले नैतिकता भन्ने चिज जिवित छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उल्लेख गरे । गत हप्ता प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए ।
यसअघि नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भने, ‘प्रधानमन्त्रीले जुन खालको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनुभयो। त्यसले हाम्रो राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधिनतालाई उहाँले माटोमा मिलाउने काम गर्नु भएको छ। र, नेपाली जनतामा निहित सार्वभौमसत्तामाथि उहाँले प्रकारले चुनौति दिने काम पनि गर्नु भएको छ,’ उनले भने, ‘देशका एउटा बहालवाला प्रधानमन्त्रीले यो तहको अभिव्यक्ति दिने कुरा आफैंमा गम्भिर र आपत्तिजनक कुरा हो। यो निन्दनीय छ। यसलाई हामीले सामान्य रुपले लिन सक्दैनौं।’दाहालले मुलुकको स्वाभिमान, स्वाधिनता र सार्वभौमिकतालाई माटोमा मिलाउने गरी दिएको अभिव्यक्ति कुनै पनि हालत क्षम्य हुने पटकपटक दोहोर्याए।
एमालेका अर्का सांसद गोकुल बाँस्कोटाले पनि राजीनामा दिनुपर्ने औंल्याए । ‘एक माघले जाडो जाँदैन, राजनीतिमा एकले अर्कालाई वाच गरिरहेको हुन्छ भन्ने कुरा स्मरण गराउन चाहन्छु। उहाँले राजीनामा दिनुपर्छ, हाम्रो भनाइ त्यही हो। उहाँले एक्सक्युज गर्नुपर्छ। उहाँको भनाइ स्पष्ट रूपमा हामीलाई, यो सार्वभौम संसद्लाई, यसमार्फत दुई करोड ९१ लाख नेपाली जनतालाई आश्वस्त पार्ने खालको आउँछ कि आउँदैन, हाम्रो पर्खाइ त्यो हो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले संसद्लाई स्पष्ट पार्नुपर्दछ। उहाँले सक्नुहुन्छ भने देशका लागि उभिने आँट गर्नुस्। पद छोडिदिनुस्। सत्तास्वार्थको निम्ति देशको सार्वभौमसत्ता साटिँदैन।’
तर सत्तारुढ गठबन्धन राजीनामा दिनुनपर्ने विषयमा अडिक छ । सत्तारूढ गठबन्धनको बैठकले विपक्षी दलले भने जस्तो राजीनामा दिनुनपर्ने निर्णय गरेको गरिसकेको छ । प्रतिपक्षी दलले माग गरे जस्तो प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने निर्णय गठबन्धनको छ ।
भारतीय नागरिक प्रितम सिंहका विषयमा किरणदीप सन्धुले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले विवादित अभिव्यक्ति दिएका थिए। सन्धुको पुस्तक रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल विमोचन कार्यक्रम दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै मेहनत गरेको र दिल्ली समेत धाएको अभिव्यक्ति दिएका थिए।
त्यसलाई लिएर एमालेसहित विपक्षी दलले विरोध गरिरहेका छन्। उनीहरूले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने माग गरेका छन्। विपक्षी दलको विरोधका कारण संसद् बैठक अवरुद्ध छ। गठबन्धनको बैठकमा यस विषयमा छलफल भएको हो। प्रतिपक्षी दलले प्रधानमन्त्रीको कुरा नै नसुनी विरोध जनाएको गठबन्धनको निचोड छ। “प्रधानमन्त्रीको विरुद्ध संसद्मा अवरोध गरेको छ। राजीनामा माग गरेको भन्ने आयो। यो असंसदीय निर्णय हो,” नेता राजेन्द्र पाण्डेले
भने, “प्रधानमन्त्रीले बोलेका विषयमा आपत्ति भयो भने आवाज उठाउन पाइन्छ। के बोलेको हो ? सोध्नुपर्ने विषय हो। कुरै नसुनी राजीनामा माग गर्ने निर्णय गरेको छ।’
यता, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति अपराध नभएको दाबी गरेकी छन् । उनले प्रधानमन्त्रीले भावनात्मक र सामान्य व्यक्तिप्रति राखेको सद्भाव राजनीतिक विषय बन्न नसक्ने स्पष्ट पारिन् । उनले प्रधानमन्त्रीले पुस्तक विमोचनमा बोलेको कुरा गलत नभएको भन्दै प्रतिपक्ष दलले नियोजित रुपमा प्रधानमन्त्रीलाई स्पष्टीकरण दिनसमेत अवसर नदीईकन राजीनामा मागेको दाबी गरिन् । मन्त्री शर्माले विपक्षीले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिने कुरा सम्भव नरहेको जिकिर गरिन् ।
मन्त्री शर्माले वर्तमान गठबन्धनको सरकार ढल्ने कुनै सम्भावना नरहेको दाबी पनि गरिन् । ‘सरकार ढल्ने कुनै सम्भावना छैन । त्यो कुनै आवश्यकता पनि छैन,’ शर्माले भनिन्, ‘सरकारले राम्रा कामको सुरुवात गरी अघि बढेको छ । यो बेलामा जनताको पूर्ण साथ, समर्थन छ, सरकार दायाँबायाँ हुँदैन ।’