लफडामा डा.आरजू राणा देउवा - रुपान्तरण
 २०८३ बैशाख १७, बिहीबार    

लफडामा डा.आरजू राणा देउवा


काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आरजू राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुट भएको बताएकी छिन् ।

उक्त अडियोको अनुसन्धान गर्न उनले प्रहरीमा दिएको उजुरीको छानविनबाट पनि सो प्रमाणित भएको उनको भनाइ छ । उक्त अडियो संवादमा एक व्यक्तिले अर्का कोही व्यक्तिसँग डा राणा र मञ्जु खाँडलाई रकम बुझाएको बताएका थिए । त्यो आवाज हाल अनुसन्धानमा रहेका दाङका सन्देश शर्माकै भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सो अडियोको छानविन गर्न डा राणाले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । आफूलाई जोडेर ‘फेक अडियो’ बद्नियतपूर्णरुपमा रेकर्ड गराइएको भन्दै सो अडियो कसले बनाएको हो र सामाजिक सञ्जालमा कसले राखेको हो भन्ने विषयको अनुसन्धान गरी दोषीमाथि कारबाही गरिपाउँ भन्दै उनले गत वैशाख २७ मा उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा अनुसन्धान गरेको प्रहरीले सो आवाज शरणार्थी प्रकरणका आरोपी सन्देश शर्माको आवाजको ‘स्याम्पल’सँग मेल खाएको जानकारी आइतबार गराएको छ । त्यही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्नेबारेमा भने टिकटक सिङ्गापुरसँग जानकारी मागेको तर प्राप्त नभएको पनि नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

उता थुनमा रहेका अभियुक्त शर्माले गत बैशाख ४ गते नेपाल प्रहरीमा दिएको र अदालतमा दिएको बयान एउटै छ । तर आरजू राणाको नाम लिइएको सो अडियो सो बयानपछि मात्रै सार्वजनिक भएको थियो । त्यसपछि डा राणाले अनुसन्धानका लागि प्रहरीसमक्ष उजुरी दिएको बताइन् ।

उक्त निवेदनबारे गरेको अनुसन्धानमा सीआईबीले फोनमा बोल्ने सन्देश शर्माले बयानमा दिएअनुसार आफूलाई अनुकूल हुनेगरी मात्रै नाम लिएको तर डा राणालाई आफूले नचिनेको र यो काण्डमा उनको सम्बन्ध रहेको बारेमा आफूलाई थाहा नभएको बताएका थिए ।

अभियुक्त सन्देश शर्माले काठमाडौँ जिल्ला अदालतमा दिएको बयानमा पैसा लिएका मानिसका कारण आफू समस्यामा परेकाले जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले आरजू देउवा तथा बालकृष्ण खाँड र मञ्जु खाँडकोसमेत नाम लिइ मैले रकम बुझाएको हो भन्नु भनेअनुसार नै उनीहरुको नाम लिएको र आफूहरुले यस प्रकरणमा उनीहरुलाई नचिन्ने बयान दिएका थिए ।

प्रहरी अनुसन्धानबाट सो आवाज शर्मासँग मिलेको भए पनि आफूलाई लेनदेनका बारेमा केही थाहा नभएको भन्दै सांसद डा राणाले सो अडियो नै बद्नियतपूर्णरुपमा आफूलाई यस मुद्दामा जबर्जस्ती तान्न गरिएको षड्यन्त्र हो भन्छिन् ।

उनले भनिन्, “पहिले नै सो व्यक्तिले काठमाडौँ जिल्ला अदालतमा दिएको बयानमा आफूले आरजुलाई नचिनेको र नचिनेका व्यक्तिलाई कसरी पैसा दिनु भनेको कुरा स्पष्टरुपमा बाहिर आइसकेकाले यो अडियो जसले बनाएको वा सामाजिक सञ्जालमा राखेको भए पनि मलाई विवादमा ल्याउनका लागि रचिएको हो, यसमा मेरो कुनै पनि संलग्नता छैन ।”

यसअघि पनि उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडिओबारे छानबिनको माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन् ।

आफ्नो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा आफ्नोसमेत नाम जोडी कुराकानी गरिएको अडियो फेक रहेको दाबी गर्दै उनले उक्त अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी थिइन ।

उनले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिले निराधार र कपोलकल्पित आरोप लगाउँदै आएको बताएकी छन् । सबैलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार भएपनि कसैलाई आधारहीन गालीगलौज र लान्छना लगाउने अधिकार नरहेको राणाको भनाई छ ।