काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो । नर्भिक अस्पतालका प्रोफेसर डा.युवराज शर्माले सीता दाहालको निधन भएको पुष्टि गरेका छन् ।
उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको ६९ वर्षको उमेरमा निधन भएको हो । दाहालको पशुपति आर्यघाटमा विहीबार नै अन्त्येष्टि गरिने भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार त्यसअघि उनको पार्थिक शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिनेछ । बुधबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिवालयले जनाएको छ ।
सीता दाहाल वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा बुवा महेश्वर पौडेल र आमा हरिकला पौडेलको कोखबाट जन्म भएको हो । सीता दाहालको २०२६ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विवाह भएको थियो । ०२८ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार थिइन ।
पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन विताएकी दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै आएकी थिइन । दाहालका बारेमा पार्टीका महासचिव देव गुरुङ भन्छन, ‘‘सीता दहालले जनयुद्धको समयमा आँधीमय वर्षहरूमा सिङ्गो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लोसमय उहाँ पार्किन्सनजस्तो दुर्लभ रोगलगायतका रोगहरूबाट ग्रसित हुँदै आउनुभएको थियो ।’’
भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु दाहाल र गंगा दाहाल सम्पूर्ण रूपले देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहँदै आउनुभएको जानकारी पनि महासचिव गुरुङले दिए । दाहाललाई माओवादी निकट कार्यकर्ता एवम शुभेच्छुकहरुले ‘महान आमा’ र ‘साहसी आमा’को उपमा दिएका छन् ।