नयाँ पार्टी खहरे जस्ता - रुपान्तरण
 २०८३ बैशाख १७, बिहीबार    

नयाँ पार्टी खहरे जस्ता


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरुप्रति कटाक्ष गरेका छन् । पुराना पार्टीका दिनहरु गए भन्दै आएका नयाँ पार्टीहरुले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरु सबै पुराना हुन् भनेर बिर्सन नहुने बताए ।

उनले पुरानो नाता सम्बन्धहरुलाई तोडिराखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने बताए । उनले निरन्तर बगिरहेका नदीहरुबाट नै देशले विद्युत उत्पादन गर्नसक्छ भन्नेकुरा नबिर्सिन नयाँ राजनीतिक दलहरुसँग आग्रह गरे ।

महामन्त्री शर्माले काँग्रेस अझै बलियो, परिपक्व, संयमित र एकतावद्ध बन्नुपर्ने बेला आएको बताए । उनले साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रुपमा अभियान घोषणा गरी पुरानो दललाई तरोतजकी बनाएर नविन बनाउने क्रम सुरु हुने बताए ।

काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुराना पार्टीहरुले केही गरेनन् भनेर नयाँ आएका पार्टीहरु टिक्न नसक्ने टिप्पणी गरे । उनले यिनीहरुले केही गर्दैनन् भनेर आएका नयाँ पार्टीहरु धेरै समय नटिक्ने दाबी गरे । उनले दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवासन, पुलिसको लाठि डन्डा सहेर पुराना पार्टीहरु निर्माण भएको भन्दै यस्तै समस्या नयाँ प्रवृत्तिहरुले भोग्नुपर्‍यो भने कति टिक्छन् हेरौँला भन्दै प्रश्न गरे ।