काठमाडौं । एक वर्ष भन्दा बढी समयपछि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपीनगरमा बस्ने कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।
बैठकका लागि १० वटा एजेण्डा तय गरिएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रिय कार्य समिति बैठकका लागि १० वटा एजेण्डा तय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले दश वटा एजेण्डा तय गरिएको जानकारी दिए । उनले पहिलो एजेण्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुने बताए । त्यसैगरी सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने उनले जनाए । महामन्त्री शर्माले कार्यसम्पादन समितिले गरेका निर्णयहरु अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुने उल्लेख गरे ।
केन्द्रिय कार्य समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेण्डा पनि रहेको छ । अरु एजेण्डाहरुमा पार्टीले प्रतिनिधि सभामा खेलेको भुमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरुको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ ।
तर भ्रष्टाचार र अनियमितताका पछिल्ला घटनाक्रमबारे एजेन्डा तय गरिएको छैन । भ्रष्टाचारका विषयमा काँग्रेस बोल्दै बोलेन भन्ने आम जनचासो रहेका बेला काँग्रेसभित्रै पनि भ्रष्टाचार र विभिन्न काण्डहरुमा मुछिएका नेताहरुका बारेमा एजेन्डा तय नभएको जानकारी प्राप्त भएको छ । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँड मुछिए पनि त्यसका बारेमा कांग्रेस मौन जस्तै देखिएको छ ।
एउटै काण्डमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टीले कारबाही गरेपछि खाँडलाई पनि कारबाही गर्नुपर्ने आवाज शुरुआतदेखि नै उठ्दै आएको छ । खाँडमाथि कुनै कारबाही भएको छैन । संस्थापनले खाँडलाई बचाउनु पर्छ भन्नेतिर लागेको र संस्थापन इतरले कारबाही नै गर्नुपर्छ भन्नेतिर लागेको पाइएको छ । तर पछिल्लो समय देउवा खाँडलाई बचाउनतर्फ लागेको देउवा निकट स्रोत बताउँछ ।