कांग्रेस केन्द्रीय समितिको बैठक दुई घन्टा: १० कार्यसूची - रुपान्तरण
 २०८३ बैशाख १७, बिहीबार    

कांग्रेस केन्द्रीय समितिको बैठक दुई घन्टा: १० कार्यसूची


काठमाडौँ । मंगलबारदेखि शुरु भएको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक पहिलो दिन दुई घण्टामात्रै बसेर बैठक भोलिसम्मका लागि स्थगित भएको छ । दिउँसो २ः११ बजे शुरु भएको बैठक अपरान्ह ४ः११ बजे सकिएको थियो । बैठक भोलिदेखि बिहान ११ बजेदेखि नै शुरु हुने सभापति शेरबहादुर देउवाले बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आरम्भ भएको उक्त बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराएका थिए । यसैगरी अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिक सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेता आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको कामका बारेमा जानकारी गराएका थिए ।

यसैगरी प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाका विषयमा प्रमुख सचेतक रमेश लेखकले र सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउँदै आफ्ना धारणा व्यक्त गरे । बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएका छन् । बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचीमाथि छलफल भइरहेको छ । काँग्रेसले पहिलो पटक केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरेको छ ।

काँग्रेसका क्रियाशील सदस्यले यही साउनभित्रै कार्ड पाउने भएका छन् । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री गगनकुमार थापाले सो जानकारी दिएका हुन् । सोसँगै थापाले एक वर्षको तालिका सुनाएका छन् । उनले केन्द्रीय कार्यसमिति बैठक हरेक दुई महिनामा कम्तीमा बसिहाल्ने र साउनमा बसेपछि अब असोजको पहिलो हप्तामा बस्ने नै र न्यूनतम दुई वटा बैठक काठमाडौँ बाहिर बस्ने सुनाएका छन् । उनले पार्टीको विधानमा भएका ४८ विभागमा अझै केही नयाँ विभाग थप्न आवश्यक भएकाले केही विभाग प्रस्ताव गर्ने र उक्त विभाग भदौ १५ सम्म तयार गर्ने पनि उनले बताए । उनले वर्षभरिको विवरण ६–६ महिनामा बुझाउने भन्ने रहेको गगनले बताए ।

समितिले पूर्णता पाउन नसकेकोले भदौ १५ भित्रै गठन गर्नुपर्ने उनले बताए । प्रशिक्षणको कार्यतालिकासमेत उनले सुनाएका छन् । भ्रातृ संस्थाहरुको बारेमा उनले प्रस्ताव सुनाएका छन् । उनले ८ लाख ६६ हजार क्रियाशील सदस्यहरुको कार्ड जिल्लाबाटै साउन मसान्त भित्रै प्रिन्ट गरेर दिने पनि समय तोकेको बताएका छन् ।

केही जिल्लामा यसको शुरुआत भइसकेको पनि उनले बताए । नवीकरण कार्यक्रम भदौ, असोज र कार्तिकमा गर्ने पनि उनले बताए । राष्ट्रिय अभियान साउन २० देखि आगामी असार ३१ गतेसम्म हुने बताएका छन् । यो अभियान अन्तर्गत ५ देखि ७ लाख क्रियाशील सदस्य थप्ने दाबीसमेत उनले गरेका छन् ।

यता, नेपाली काँग्रेस रूपान्तरण अभियानको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाइएको छ । सभापति शेरबहादुर देउवाले बुझ्न अस्वीकार गरेपछि कार्यालयमा प्रतिवेदन बुझाइएको हो ।

पार्टी कार्यालयमा कार्यबाहक मुख्यसचिवमार्फत् प्रतिवेदन दर्ता भएको छ । काँग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान चलाएका थिए । प्रतिवेदन पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पनि बुझाइने छ । केन्द्रीय सदस्य मधु आचार्य, गोविन्द पोखरेल र नेताहरू गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, रञ्जित कर्णलगायतले रुपान्तरण अभियान चलाएका थिए ।

कांग्रेस रुपान्तरण अभियानले २१ बुँदे सुझाव दिएको छ । प्रतिवेदनमा १४औँ महाधिवेशन सकिएको ६ महिनाभित्र गर्ने भनिएको नीति महाधिवेशन जतिसक्यो चाँडो गर्न सुझाइएको छ । पार्टीको सैद्धान्तिक, वैचारिक मौलिकताको रक्षा गर्नुपर्ने, समयसापेक्ष, स्पष्ट र जनमुखी नीति निर्माण गर्नुपर्ने, ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को लक्ष्यलाई राष्ट्रिय संकल्प बनाउनुपर्ने, पार्टी सदस्यता प्रणालीलाई खुला, सहज र पारदर्शी बनाउनुपर्ने, पार्टीका सबै तहले विधानमा तोकिए बमोजिमका काम, कर्तव्य र अधिकारको पूर्ण पालना गर्ने लगायतका २१ बुँदे एजेन्डा समेटिएको छ ।