काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसँगिनी सीताको निधनपछि पहिलो पटक मंगलबार बालुवाटारमा आयोजित कार्यक्रम निकै सन्नाटपूर्ण देखिएको छ । प्रचण्ड भावुक देखिएका छन् । शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरूलाई पीडाबाट निस्कन मद्दत गरेको पनि उनले बताए ।
पत्नी सीताको निधन भएको सातौँ दिनको सन्दर्भ पारेर प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले सबै पक्षको सहानुभूतिबाट देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको आफूलाई महसुस गरेको बताए ।
प्रधानमन्त्री प्रचण्डले छोरा र छोरी गुमाउँदाको पीडामा पनि शरीरले साथ दिएसम्म पत्नी सीता दृढतापूर्वक उभिएको स्मरण गरे । उनले राज्यबाट कुनै सुविधा नलिई उपलब्ध र लाभदायी हुनसक्ने सबै खाले पद्धतिबाट उपचारको प्रयास गरिएको बताए ।
प्रचण्डले भने, “सीता थला परेपछि अन्तिम अवस्था दुःखदायी हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो, अन्तिम अवस्थामा आइसियु वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि डर पनि थियो, तर बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन् ।’
उनले अस्पतालदेखि पार्टी कार्यालयसम्म, आर्यघाटदेखि बालुवाटारसम्म सीताले पाएको सम्मान र श्रद्धाञ्जली त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने आफूले ठानेको बताए । सीताको निधनमा प्रकट भएका जनअभिव्यक्ति र जनउभारले आफू र आफ्नो परिवारलाई देश र जनताप्रति अझ ठुलो जिम्मेवारीबोध गराएको जनाए ।
“शोकको यो घडीमा मित्रराष्ट्र र संसारभरका सबै राष्ट्रप्रमुख र सरकारप्रमुखबाट हामीले अत्यन्त आत्मीय सहानुभूति र ऐक्यबद्धता पायौँ”, उहाँले भने, “कूटनीतिक जगत्, राजनीतिक दल र नेतृत्व वर्ग, सञ्चारजगत्, कर्मचारीतन्त्र, सुरक्षा निकाय, बुद्धिजीवी, साहित्यकार, कलाकार, सङ्गीतकर्मी, व्यवसायी र समाजका सबै तप्काको समवेदना र सहानुभूतिले हाम्रो पीडामा ठुलो मलहम लगाउने काम गरेको छ ।” प्रधानमन्त्री पत्नी सीताको गत असार २७ गते ६९ वर्षको उमेरमा निधन भएको थियो ।
उनले सबै पक्षको सहानुभूतिका लागि आफू, सरकार, पार्टी र परिवारका तर्फबाट धन्यवाद ज्ञापन गरे । श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालगायतको उपस्थिति थियो । सो अवसरमा प्रधानमन्त्री पत्नी सीताको व्यक्तिगत तथा राजनीतिक योगदान समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रमपछि प्रधानमन्त्री निवासमा जलपान कार्यक्रमको आयोजना गरिएको थियो ।