काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोईरालाले समाजवादी मोर्चाको सम्बन्धमा प्रश्न उठाएका छन् । आइतबारको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोईरालाले सत्तारुढ गठबन्धन भित्रैका दलहरुले बनाएको समाजवादी मोर्चा कसको लागि बनेको हो भनि प्रश्न गरे। उनले गठबन्धन भित्र अर्को गठबन्धन बनेको भन्दै त्यसबारेमा पार्टीभित्र छलफल गर्नु जरुरी रहेको उल्लेख गरे ।
कोइरालाले नक्कली भूटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय तहमा देशको छवि धुमलिएको भन्दै यस विषयमा सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको बताए । उनले केन्द्रीय समिति बैठकले पारदर्शिता र सुशासनको पक्षमा उभिनसक्ने नैतिक बल दिने विश्वास पनि व्यक्त गरे ।
उनले संसदबाट दण्डहिनतालाई प्रश्रय दिने कानूनहरु बन्न थालेको भन्दै राज्यका जिम्मेवार निकायहरुकै कारण देशमा पछिल्ला दिनहरुमा दण्डहिनता बढेर गएको उल्लेख गरे । कोइरालाले नीतिगत रुपमै कानून बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइराखेको बताए । नेता कोइरालाले हाल संसदमा रहेको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज गर्नुपर्ने बताए ।
नेता कोईरालाले महामन्त्री गगन थापाले प्रस्तुत गरेको संगठनात्मक कार्यतालिकामा प्रदेशलाई छुटाइएको बताए । नेपाली कांग्रेस मासबेशी पार्टी भएपनि कार्यतालिका भने क्याडरबेशमा गएको उनको टिप्पणी छ । उनले आगामी २०८४ सालको निर्वाचन कांग्रेस एक्लैले लड्नुपर्ने बताए ।
उनले प्रत्यक्ष निर्वाचन प्रणालीभित्रै समानुपातिक, समावेशी सुनिश्चिता गर्नुपर्ने र त्यसको पहल नेपाली कांग्रेसले नै गर्नुपर्नेमा जोड दिए । नेता कोइरालाले केन्द्रीय समिति बैठक आरोप प्रत्यारोप र कुण्ठा पोख्ने थलोमात्र बनेको टिप्पणी समेत गरे ।
आदरणीय सभापतिज्यू,
पदाधिकारीज्यूहरु र उपस्थित केन्द्रिय सदस्यहरु,
आज हामी झण्डै एकवर्षको अन्तराल पछि यहाँ भेला भएका छौँ । कैयन साथीहरुलाई विधान विपरित यसरी एकवर्ष पछि भेला हुने अवस्था किन र कसरी उत्पन्न भयो होला भन्ने जिज्ञाशा हुनसक्छ । यसको जवाफ सभापति र पदाधिकारी साथीहरुबाट आउने नै छ भन्ने विश्वास गरौँ ।
१. बैठक लाईभ सम्बन्धि-
अहिलेको बिश्व लोकरिझ्याईमा चलेको छ । सायद त्यसैको सिको हामी पनि गर्दैछौँ । केन्द्रिय समितिको बैठक लाईभ गर्नु त राम्रै हो र हाम्रा लागी नयाँ प्रयोग पनी हो । यसले पारदर्शितालाई प्रवर्धन त गरेको छ तर यो सुरु गर्दा कार्यविधी तय गरेर गरेको भए राम्रो हुने थियो जस्तो लाग्छ । कुन बिषय बन्द कोठामा गर्ने र कुन बिषय खुल्ला गर्ने भन्ने कुराको परिधी तय गरिनुपथ्र्यो । मलाई लाग्छ परराष्ट्र, समसामयिक बिषयहरु, अन्तरदलिय बिषय, निर्वाचन रणनीति आदी कुराको स्पष्ट गाईडलाईन बनाऔँ ।
२. महामन्त्रीको सांगठानिक कार्यतालिका-
महामन्त्रीले प्रस्तुत गर्नु भएको पार्टीको सांगठानिक कार्यतालिका समग्रमा राम्रै छ । कांग्रेस मासबेस पार्टी भनिन्छ तर सांगठानिक कार्यक्रम क्याडरबेसमा आधारित देखिन्छ । केन्द्रले जिल्ला लगायत तल्लो तहमा कार्यक्रम गर्दा प्रदेश समितिसँग समन्वय र जानकारी गराउँनुपर्ने प्रावधान थपिनुपर्छ । किनकी यसले संघियताप्रती हामी प्रतिबद्ध छौँ भन्ने कुरा उजागर गर्छ । अर्कोतर्फ अन्य महत्वपूणर् नेताहरुको स्मृति दिवस छुटेको छ, ती पनि समावेश गरिनुपर्छ ।
३. गठबन्धनबारे-
कांग्रेसले गठबन्धन गरेर ठिक वा बेठिक गर्यो भनी अब बस्ने समय छैन, आगामी निर्वाचनहरु कांग्रेसले एक्लै लड्ने तयारी आजवाटै गर्नेछौँ भनी शपथ खानु पर्नेछ । किनकी गत निर्वाचनबाट हामीले प्राप्त गरेको पपुलर मत बिभाजित कम्युनिष्ट पार्टीभन्दा पनि कम छ ।
गएको आम निर्वाचनमा गठबन्धन गरेर कांग्रेस संसद भित्र ठुलो दल भएको छ । ठुलो दलको हैसियतले सरकारको नेतृत्व गर्न हामीलाई प्राविधिक कारणले सम्भव भएन तर पनि अहिले हाम्रो समर्थनको संघिय सरकार छ र प्रदेश सरकारमा पनी हामी छौँ । संसदमा कांग्रेस पार्टीभित्र अपेक्षित उर्जा प्रस्फुटन हुन किन नसकिरहेको होला भन्ने प्रश्न हाम्रो सामु छ । मलाई यो भनिरहँदा कुनै संकोच छैन की हाम्रो पार्टी यतिखेर चौतर्फी विरोधी विचारहरुवाट मात्र आक्रमणमा परिरहेको छैन, राष्ट्रिय र क्षेत्रीय रुपमा उदाएका नयाँ पार्टीहरुवाट पनि चुनौतिको घेरामा छ ।
४. सरकारको कामकाज-
सरकारको कामकाज समिक्षा र प्रभावकारितावारे अहिले भनिहाल्नुपर्ने समय भएको छैन तर गठबन्धनको मर्म अनुसार सरकार सञ्चालन भएको छ कि छैन वा मन्त्रीहरुले स्वत स्फुर्त काम गर्न पाएका छन् कि छैनन् भन्ने बिषयमा भने सोच्नु पर्ने समय आएको छ ।
स्थानीय सरकार देखि प्रदेश हुँदै केन्द्र सरकारसम्म सहभागी कांग्रेस प्रतिनिधिहरुवाट जन अपेक्षा अत्यन्त बढी छ र त्यस अनुरुप हामीले जनतालाई चित्त बुझाएर काम गर्न नसक्दा हाम्रो पार्टीको भविष्य मात्र अन्धकार हुने होइन नेपालको लोकतन्त्र पनि कमजोर र दिशाहिन हुन जाने तर्फ साथीहरु सचेत हुनुहुनेछ । महङ्गी र कालाबजारीले जनता आक्रान्त छन । जनजीविकाको सवालमा जनताले सरकार भएको अनुभूती गर्न सकेका छैनन । यसप्रति हामी र पार्टीबाट मन्त्री बनेकाहरुले गम्भिर हुनै पर्छ । कांग्रेस सरकारमा छ भन्ने अनुभूति जनतालाई दिलाउने तर्फ साथीहरु सचेत हुनुहोला ।
५. दण्डहिनता-
राज्यका जिम्मेवार निकायहरुकै कारण देशमा पछिल्ला दिनहरुमा दण्डहिनता बढेर गएको छ । नीतिगतरुपमै कानुन बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भईरहेको छ । हाल संसदमा रहेको “मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक-२०८०” तत्काल खारेज गरिनुपर्छ । यदि यो बिधेयक संसदबाट पारित भए देशमा दण्डहिनताले सँस्थागत रुप लिन्छ । जनता दण्डहिनताको अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस भन्ने चाहना राख्छन ।
६. अन्य राजनीतिक दल सम्बन्धि-
समाजबादी मोर्चा किन बनेको हो ? गठबन्धन भित्रैबाट बनेको यसको औचित्य के हो ?
७. भ्रष्टाचार र सुशासन-
भ्रष्टाचार र सुशासन दुई विपरित दिशामा हिड्छन । कांग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने बिश्वासको वातावरण निर्माण नगरी जनताको घरदैलोमा भोट माग्न जान अब सम्भव छैन ।
८. भुटानी शरणार्थी प्रकरण-
भुटानी शरणार्थी प्रकरण अत्यन्तै संवेदनशिल र पेचिलो बिषय हो । यस बिषयमा केबल भावनामा बगेर र हलुका टिप्पणी गरेर पन्छन सक्ने अवस्था छैन । यो प्रकरणले अन्तराष्ट्रिय तहमै नेपालको छबि धमिलिएको छ । यसमा हामी सचेत र गम्भिर बन्नुपर्ने आवश्यकता छ । यस बिषयमा यो केन्द्रिय समितिले पारदर्शिता र सुशासनका पक्षमा उभिन सक्ने नैतिक बल दिनेछ भन्ने बिश्वास लिएको छु ।
९. निर्वाचन प्रणाली-
प्रत्यक्ष निर्वाचन प्रणाली भित्रबाटै समानुपातिक र समावेशीको सुनिश्चितता गरिनुपर्छ र त्यसको पहल नेपाली कांग्रेसले गर्नुपर्छ ।
१०. बिदेशमा बस्ने नेपालीहरुको मताधिकार-
बिदेशमा बस्ने नेपालीहरुलाई समानुपातिक प्रणालीमा मताधिकार दिने भनेर निर्वाचन आयोगले भनेको छ । यस सम्बन्धी कानुन बनाएर कार्यान्वयनका लागी कांग्रेस पार्टीले जोड दिनुपर्ने आवश्यकता छ ।
११. बदलिदो भुराजनीति-
बदलिदो भुराजनीतिलाई मध्यनजर गर्दै नेपालको अन्तराष्ट्रिय कुटनीतिमा देखिएको असंगती र अस्थिरतालाई देशको जिम्मेवार र ठुलो पार्टीको नाताले एकपटक गम्भिरतापूर्वक सोचौँ, हामी अन्तराष्ट्रिय राजनीतिको क्रिडास्थल नबनौँ ।
१२. पार्टीमा एकताबद्ध हुन आहन-
विभिन्न कारणले कांग्रेसको मूलधारवाट अलग्गिएका र छेउ किनारामा पुगेका कांग्रेसजनलाई सम्मानजनकरुपमा घर फर्कने बाटो खोलिनुपर्छ । कांग्रेस पार्टीले व्यक्तिको राजनीतिक सुरक्षा र राष्ट्र निर्माणमा समान अवसर सवैलाई दिन्छ भन्ने सन्देश प्रवाह गर्नसके हामीसँग अनेकन् कारणले असन्तुष्ट भएकालाई फेरी मुलधारमा ल्याउन सकिन्छ । तसर्थ यस अघि जुनसुकै कारणले कांग्रेसवाट अलग्गिएका साथीहरुलाई पार्टीमा पुनः एकताबद्ध हुन आहन गरौँ ।
सभापतिज्यू,
१३. जनतासँग जोडौँ-
सत्तालाई मात्र अन्तिम सत्य मान्दा राजनीतिक मुल्य, मान्यता, सिद्धान्त र आदर्श कमजोर बन्दै गएको छ । हामी जनतासँग टाढिएका छौँ । जनता र हामी बिचको खाडल पुर्नुपर्ने अहिलेको पहिलो आवश्यकता हो । लोककल्याणकारी राज्य निर्माणमा हामी चुकेका छौँ । जसका कारण पार्टीमा नैतिक र सांस्कृतिक विचलन आएको छ । यसलाई क्रमशः न्यून गर्दै पार्टीको नैतिक पक्षलाई पूर्नस्थापित गरेर विपी कोइराला लगायत हाम्रा अग्रजहरुको सोचको कांग्रेस फेरी निर्माण गर्नुछ । जनताले पत्याउने र भरोसा गर्ने कांग्रेस निर्माण गर्ने कार्य अब पनि ढिलो गर्दा हामी असान्दर्भिक हुने खतरा बढ्दो छ ।
तसर्थ नेपाली समाजको बदलिदो आर्थिक, सामाजिक र सांस्कृतिक आलोकमा पार्टीभित्र अनेकन् पेशा, व्यवसाय, वर्ग र समुदायको सहभागिता अनिवार्य नै भएको छ । पार्टीलाई देशभित्र र बाहिरका श्रमिक,विज्ञ, विशेषज्ञ, पुर्व प्रशासक र समाजका प्रतिष्ठित व्यक्तिहरुसंग नजोडी पुरानो शैलीमा मात्र पार्टी सञ्चालन गर्ने समय अब रहेन । त्यसकारण पार्टीका बिभिन्न तहमा निश्चित प्रतिशत तय गरी यस्ता व्यक्तिवाट पार्टीले लाभ लिने व्यवस्था गरौँ ।
सभापतिज्यू,
१४. बिधान अनुसार चलौँ-
हाम्रो राजनीतिक भविष्य मात्र होइन देशको लोकतन्त्रको भविष्य पनि हाम्रो चरित्र र कार्यशैलीद्धारा निर्देशित हुन्छ । हामी सवै एउटा खेलको नियममा वाँधिएका छौँ र बाधिनु पर्छ । जसरी देश संविधानवाट चल्छ त्यसैगरी कांग्रेस पनि पार्टी विधानवाट अगाडि बढाउने परम्परा बसालौँ । हाम्रा भातृ र शुभेच्छुक संस्थाहरुलाई पनि बिधान अनुरुप अगाडि बढाउने काम गरौँ । बिधानले सवैले गर्ने काम तोकेको छ । हामी कतिले के-के गर्यौ, मनन गरौँ । लामो समयपछि बसेको केन्द्रिय समितिको बैठक आरोप प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको देखियो । यो राम्रो लक्षण हैन । यसले हामी हाम्रो लक्ष्य र गन्तव्यमा पुग्न सक्दैनौँ ।
१५. महासमिति बैठक -
१४औँ महाधिबेशनले नेतृत्व चयन मात्र गर्यो । कुनै पनि पार्टी उसको नीति, सिद्धान्त र कार्ययोजनाले मात्रै जिवन्त रहन्छ । नेपाली कांग्रेस बिचारले भरिएको पार्टी हो तर १४औँ महाधिबेशन पछाडी यसले आफ्नो राजनीति दस्तावेज ल्याएको छैन । अहिले पार्टीमा बिचारको खडेरी छ । त्यसकारण बिधान अनुसार अबिलम्ब महासमितिको बैठक बोलाई नीति तथा कार्यक्रम ल्याउनेतर्फ जानु पर्छ ।
अन्तमा,
पार्टी सुधारको कुरा कसैलाई सुनाउँन वा देखाउँनलाई होईन । पार्टीलाई जीवन्त र समय सापेक्ष राख्न हो ।सस्तो लोकप्रियता र लहडले संगठन चल्दैन । परिपक्व र जिम्मेवार बनौँ । दुरदराजका जनताको आवाज सुनौँ । केवल शब्द रटानमा मात्रै होइन, व्यवहारिकरुपमै आफूलाई परिवर्तन गरौँ । विधानले व्यवस्था गरे अनुसार बसौँ र छलफल गरौँ । कांग्रेसलाई बहस, चिन्तन र विचारको नयाँ युगमा प्रवेश गराऔँ । कांग्रेस रुपान्तरण भनेकै यही हो । जय नेपाल ।
डा शेखर कोइराला
नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति सदस्य
कांग्रेस केन्द्रिय कार्यलय सानेपा, ललितपुर
२०८० श्रावण ७