काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी काण्डजस्तो गम्भीर विषयमा सरकारले सबैको ध्यान अन्त मोड्न खोजेको बताएका छन् ।
कम्बोडियाबाट स्वदेश फर्किने क्रममा सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सबैको ध्यान एकातिर मोडेर यस्तो गम्भीर विषयलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै ढाकछोप गर्न खोजेको भन्दै आपत्ति जनाए ।
व्यापारी (दीपक मलोत्रा) सँग कार्यक्रमको सन्दर्भमा खिचिएको तस्विरलाई लिएर सुन काण्डमा आफ्नो नाम जोड्नु आपत्तिजनक रहेको उनले बताए । उता आकाशमा चिल देखाएर यता के लुकाउन खोजिँदै छ ? भन्ने प्रश्न गर्दै अध्यक्ष ओलीले भने,‘च्याम्बरको अधिवेशनमा खिचिएको फोटो, च्याम्बरको अधिवेशनमा व्यापारी नभएर को हुन्छ ? चेम्बरमा व्यापारी नभएर को किसान हुन्छ त ? त्यो फोटो छाप्छ, अत्यन्तै गैरजिम्मेवार तरिकाले यस्ता गम्भीर विषयलाई डाइभर्ट गर्न खोज्छ, ध्यान कता मोड्न खोजेको ? उता आकाशतिर चिल देखाएर यता के लुकाउन खोजिँदैछ ? म नयाँ पत्रिका र गृहमन्त्री जस्तालाई सोध्न चाहान्छु के छोप्न खोजिँदैछ ?’
सानोतिनो संलग्नताबाट एक क्विन्टल सुन विमानस्थलबाट भित्रिन नसक्ने भन्दै उनले यसमा गृहमन्त्री वा कसको संलग्नता छ भन्दै प्रश्न गरे । सुन काण्डलाई निष्कर्षमा पुर्याउन पनि उहाँले गृहमन्त्री श्रेष्ठलाई आग्रह गरे । सुनकाण्ड निष्कर्षमा नपुगेसम्म एमाले चुप लागेर नबस्ने चेतावनी दिँदै अध्यक्ष ओलीले एमाले सरकारमा छँदा यस्ता काण्डलाई निष्कर्षमा पुर्याएको स्मरण गराए । गृहमन्त्री भएर जथाभावी बोल्न श्रेष्ठलाई छुट नभएको भन्दै उनले जवाफदेहिताको प्रश्न उठाउँदैमा मुद्दा हाल्न नपाइने बताए ।
तर ओलीको अभिव्यक्ति आएलगत्तै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानूनी दायरामा ल्याएरै छोडिने दाबी गरेका छन् । प्रेस सेन्टर नेपाल गोरखाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए । उनले भने, “ठूला, साना जो भए पनि दोषीलाई कानूनी दायरामा ल्याउँछौं ।” तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारवाही पक्रिया अघि बढाइने उनको भनाइ थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढङ्गबाट अनुसन्धान गरिरहेको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे । “जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु, दोषीलाई कुनै पनि हालतमा उम्कन दिइँदैन”, उनले भने।