फिल्ममा समलिङ्गी युवाको मायाप्रेम: पहिचान र भावना दबाउन नसकिने सन्देश - रुपान्तरण
 २०८१ श्रावण ९, बुधबार    

फिल्ममा समलिङ्गी युवाको मायाप्रेम: पहिचान र भावना दबाउन नसकिने सन्देश


-युवराज गौतम

काठमाडौं । फिल्म समाजको मुहार देखाउने ऐना हो । कथाबस्तु, पात्र, परिवेश र अभिनयले फिल्मको गहिराइ मापन गर्छ । नेपालमा बन्ने गरेका फिल्मले परम्परा, मौलिकता र मानवीय जीवनको चित्र उतार्ने गरेका छन् । किनकी मौलिकता, सामाजिक परिवेश, पात्र, संवाद र दर्शकको मनोविज्ञानलाई बुझेर निर्माण गरिएका फिल्म सफल ठहरिने गरेका छन् । समाजको वास्तविकतालाई टपक्कै टिपेर उतारिएका कतिपय फिल्मले नेपाली सिने उद्योगमा चमत्कार गरिरहेका छन् । फिल्मको मेरुदण्ड मानिने स्क्रिप्ट र विषयबस्तुमा समेटिएका कतिपय सन्दर्भले नेपाली समाजको बदलिंदो रुपको प्रतिनिधित्व गरिरहेका छन् ।

पछिल्लो समय नेपालको राजनीतिक र सामाजिक परिवर्तनको सानो अंश फिल्मभित्र देखिने गरेका छन् । मानवीय सोच, सामाजिक परम्परा र संस्कारलाई चुनौति दिने त्यस्ता विषयबस्तुमध्ये यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिको भूमिकामा केन्द्रीत रहेर फिल्म तयार हुने गरेका छन् । उनीहरुको जीवन भोगाइ फिल्मका कथा बन्न थालेका छन् । प्रेम र आवेगको प्रतिक मानिने सुनगाभा फुलकै नाम दिएर निर्माण भएको चलचित्र ‘सुनगाभा’ त्यसको प्रतिनिधि हो । दुई युवतीबीचको प्रेमकथा समेटिएको फिल्ममा युवती युवतीबीच झांगिएको प्रेम देखाइएको छ । अभिनेत्री निशा अधिकारी र दिया मास्केले समलिङ्गी भूमिकामा देखिएका छन । निशा र दियाको जस्तो प्रेमलाई नेपाली समाजले अझै स्वीकार्न सकिरहेको छैन ।

सुनगाभा भन्दा अघि बनेका कतिपय फिल्मका केही पात्र समाजमा भिन्न यौनिक पहिचान बनाएका व्यक्तिको भूमिका देखाउने गरिएको थियो । त्यस्ता भूमिका नेपाली दर्शकका लागि नौलो लाग्ने गर्छ । पुरुष पुरुषबीच र महिला महिलाबीचको प्रेम सम्बन्ध मात्र होइन तेस्रोलिङ्गी, समलिङ्गी, अन्तरलिङ्गी (एलजीवीटीआइक्यु)समुदायका व्यक्तिको जीवन भोगाइ, संघर्ष र अभिनय नेपाली फिल्ममा देखिन थालेका छन् । आफ्नो लैङ्गिक पहिचान खुलाएर व्यक्तिहरु समाजमा सार्वजनिक हुनेक्रमसँगै फिल्ममा पात्रहरु पनि सिर्जना गरिन थालिएको छ । अभिनेता दहाहाङ राईको विचारमा पछिल्लो समय यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरु फिल्मका पात्र बन्ने गरेपनि हाँसोका पात्रका रुपमा मात्र देखाइने गरेको छ ।

‘पहिला अल्पसंख्यकलाई फिल्ममा उडाउने चलन थियो । यो अझैपनि कायम देखिन्छ । तर अब सोच बदल्नु पर्छ । मान्छेको अस्तित्व र पहिचानलाई स्वीकार्नुपर्छ । हाम्रो उपस्थितिको आवश्यकताको तालमेल यो समाजमा मिल्नुपर्छ’, उनले भने ।

हुनत हिजोआज मायाको परिभाषा बदलिंदो छ । विपरित लिङ्गीसँग हुने आकर्षण र माया मात्र माया होइन । जो सँग भावना, स्वभाव र मनोविज्ञान मिल्छ उसैसँग हुने माया पनि माया हो । त्यसकै प्रतिनिधिका रुपमा सर्ट फिल्म ‘मिरा–दी टलेस् अफ लाइफ’मा समलिङ्गी माया देखाइएको छ । फिल्मकी निर्माता निर्देशक अनिता पण्डितले दुई व्यक्तिको बिच एक असाधारण सम्बन्ध जुन परस्पर विश्वास, सम्मान र स्नेहसँग जोडिन पुग्छ वा जसमा भावना र अनुभव मिल्छ त्यसलाई फिल्ममा उतारिएको प्रतिक्रिया दिनुहुन्छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘मारुनी’को सन्देश पनि पण्डितको प्रतिक्रियासँग मिल्दो छ । फिल्ममा समेटिएको कथाबस्तु र पात्रको भूमिका समलिङ्गी मायाप्रेमसँग सम्बन्धित छ ।

नेपाली समाजको पाचनशक्ति कमजोर भएर होला समलिङ्गी सम्बन्धलाई स्वीकार्न सकिरहेको छैन । जसलाई चुनौति दिनका लागि समलिङ्गी अधिकारकर्मी समेत रहनुभएका सुनिलबाबु पन्त र प्रधुम्न मिश्रले निर्माण गर्नुभएको फिल्म ‘नीलो फुल’मा बलजफती विवाह सम्बन्धी वास्तविक कथा समेटिएको छ । नायक सागर घिमिरे र नायिका उर्मिला कार्की अभिनित उक्त फिल्ममा समलिङ्गी पुरुषलाई परिवारको करकापमा महिलासँग विवाह गरिएको छ । बिहेपछि ति पुरुषले ‘मलाई महिलाप्रति आकर्षण छैन । मेरो यौन चाहना पुरुषप्रति मात्र छ’, भन्ने संवादले फिल्मलाई रोचक बनाएको छ र समाजलाई झस्काएको छ । निर्देशक पन्त भन्नुहुन्छ,‘समाजमा फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरु प्रशस्त छन । उनीहरुको पहिचान र भावना दबाइएको छ । करकापमा विहे गरिने चलन छ । जसका कारण दुई व्यक्तिको भविष्य अन्धकारमा धकेलिएको छ । यो फिल्ममा समलिङ्गीका कुरा बाहिर आएपनि जबरजस्ती विहेको कुरा बाहिर नआउने भएकाले वास्तविकता सार्वजनिक गर्ने प्रयास गरिएको हो ।’

बदलिएका निर्देशक

हलिउड र बलिउडको फिल्ममा मात्र होइन फिल्मी उद्योगमा पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय(एलजीवीटीआइक्यु)का व्यक्तिको उपस्थिति बाक्लो छ । फिल्म त दर्जनौं निर्माण भइसकेका छन् । कथा, चरित्र र पात्रको भूमिका झनै उलेख्य छ । पछिल्लो समय नेपाली फिल्ममा समलिङ्गी वा तेस्रोलिङ्गी पात्र खडा गरेर दर्जनौं फिल्म निर्माण भइरहेका छन् । हास्य वा समाजको वास्तविक चित्रण जे भएपनि त्यस्ता पात्रहरुहरुको भूमिकाले फिल्मलाई रोमान्चक पनि बनाउने गरेको छ ।

‘लप्पन छप्पन २’ मा चमेरो अर्थात चन्द्र प्रकाश थापा नामको पात्र ट्रान्सजेन्टरको भूमिकामा देखाइएको छ । तेस्रोलिङ्गीकै विषयमा फिल्म ‘गुलावी’ निर्माणको चरणमा छ । फिल्म समुन्द्र भट्टको निर्माण तथा निर्देशनमा तयार हुँदैछ । ‘सकुन्तला’मा नायक राजेश हमालको गेटअपलाई लिएर निकै चर्चा भएको थियो । तेस्रोलिङ्गी महिलाका रुपमा देखिनुभएका हमालको तस्विर अहिले उत्तिकै चर्चामा छ ।

पुरुषको रुपमा जन्मेर महिला बनेकी नुवाकोटकी अञ्जली लामा तेस्रोलिंङ्गी समुदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने पहिलो मोडल हुनुहुन्छ । उहाँ बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँगै ‘वुमन्स स्टोरिज’ मा अनुबन्धित नै हुनुभएको थियो । तेस्रोलिङ्गी वा समलिङ्गीको कथा बोकेको ‘अर्को जुनी’ले पनि समुदायको प्रतिनिधित्व गरेको छ । फिल्म ‘हाइवे’, ‘कान्छी’ साथै टेलिफिल्म ‘सिंहदरबार’मा अभिनय गरिसक्नुभएको अधिकारकर्मी तेस्रोलिङ्गी भूमिका श्रेष्ठ बलिउड र हलिउडमा एलजीवीटीआइक्यू समुदाय व्यक्तिको अभिनय मात्र होइन अधिकारका बारेमा पनि प्रशस्त फिल्म बनिरहेको बताउछन । ‘नेपाली फिल्म क्षेत्र विस्तारै परिमार्जित हुँदैछन् । हाम्रा दुःख, पीडा, संघर्ष, समाज र राज्यको दृष्टिकोण फिल्ममा समेटिन थालेका छन् । हामीलाई अश्लिल र हट सिनमा मात्र प्रयोग गर्ने निर्माता निर्देशकहरुको मन बदलिन थालेको छ ।’

म्यूजिक भिडियोमा फरक पहिचान

फिचर फिल्म, टेली सिरियल, डकुमेन्ट्री, लघु फिल्ममा भन्दा म्यूजिक भिडियोमा फरक यौनिक पहिचान भएका व्यक्तिहरुको भूमिका प्रशस्त देख्न पाइन्छ । रचना रिमालले गाउनुभएको ‘भतभती पोल्छ’ गीतमा पल शाहको भूमिका समलिङ्गी पुरुषका रुपमा देख्न पाइन्छ । भिडियोमा समलिङ्गी प्रेम सम्बन्ध, बिहे अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रुपमा प्रस्तुत गरिएको छ । रीमा विश्वकर्मा र बेनिशा हमाल अभिनित अन्जु पन्तको ’मैले भुल्न सकिन’ बोलको गीतको भिडियोमा समलिङ्गी प्रेम सम्बन्ध देखाइएको छ । गायक तथा कलाकार श्याम रानाले त समुदायको अधिकारका पक्षमा खुलेरै गीत नै रेकर्ड गराइसकेका छन् ।

गीतकार नमिता दवाडीको ‘परिचय एउटा कथा’ बोलको पुरुष शरीर भित्रको महिला मनोबिज्ञान कारुणिक हिसाबले प्रस्तुत गरिएको छ । मेल र फिमेल भर्सनमा आएको गीतमा समलिङ्गी सम्बन्ध र संघर्षको दुखान्त देखाइएको छ । ‘समाजमा तेस्रोलिङ्गीहरुले भोग्नु परेको पिडा र हेयको दृष्टीमाथिको प्रश्न उठाउन खोजेको हुँ । यि समुदायका व्यक्तिहरु समाजमा स–सम्मान, समान अधिकार पाएर बाँच्न पाउनुपर्छ भन्ने आशय गीतमार्फत व्यक्त गरेको हुँ,’ उनले भनिन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको अधिकारमा क्रियाशील ‘मायाको संसार’ संस्थाको अध्यक्ष दिनेश कुमार थिङ(सुनिता लामा) पछिल्लो समय यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे म्यूजिक भिडियो, फिल्म निर्माण हुने क्रम बढेकोमा खुशी व्यक्त गर्नुहुन्छ । ‘फिल्म बन्नु भनेको हामीलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुनु हो । पहिचान लुकाएर बाँचिरहेका समलिंगी, तेस्रोलिंङ्गी, अन्तरलिंगी निशंकोच पहिचान खुलाएर बाहिर आउनु राम्रो हो । समूदायका साथीहरु आफैं अभिनयमा पनि देखिन थाल्नुभएको छ । सबैको साथ र सहयोग पाए पहिचान लुकाएर बसेका समलिंगी महिला, समलिंगी पुरुष, तेस्रोलिंङ्गी महिला, तेस्रोलिंगी पुरुष, अन्तरलिंगी महिला र अन्तरलिंगी पुरुषलाई अधिकार माग्न अझै सहज हुनेथियो ।’

अन्तर्राष्ट्रिय जगत

बलिउड, हलिउड मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा निर्माण भएका फिल्म र सेलिब्रेटी कलाकारको भूमिकाले समलिङ्गी तेस्रोलिङ्गी पहिचान थप प्रष्ट पार्न सहयोग पुर्याइरहेको छ । किनकी गतबर्ष मात्र साउदी अरबलगायतका देशहरुमा समलिङ्गी पात्र भएका कारण प्रतिबन्ध लगाइएको फिल्म ‘डा. स्ट्रेन्ज–इन द मल्टिभर्स अफ म्याडनेस’ अरबियन देशमा रिलिज हुन नै पाएन । ल्याटिन पप गायक रिकी मार्टिन समलिङ्गी पुरुष रहेको धेरै पछि मात्र पत्ता लागेको थियो । बेलायती गायक एल्टन जोनले समलिङ्गी विवाह गरेर विश्वभर चर्चा कमाउनुभएको थियो । अमेरिकी पपस्टार म्याडोनाले ६४ बर्षको उमेरमा आफू समलिङ्गी भएको सार्वजनिक गर्नुभएको थियो । सेलिब्रेटीले आफ्नो पहिचान सार्वजनिक गरिदिनाले पनि सिने उद्योगलाई सहज भइरहेको छ र यौनिक तथा लैङ्गिक अल्पसंख्यका कथा, संघर्ष, बेदना र जीवन कथा उतार्न सहज भएको छ ।

त्यसबाहेक साहस र हिम्मत गरे निर्माण भएका फिल्मलाई समाजमा लुकेका साझा मुद्दा उठाउन सहजीकरण भइरहेको छ । समलिङ्गी मुद्दामा केन्द्रीत रहेर सन् १९९६ मा निर्मित ‘फायर’ नै पहिलो समलिङ्गी फिल्म मानिन्छ । जसलाई सामाजिक विद्रोहका रुपमा पनि व्याख्या गरिएको थियो । दिपा मेहताको उक्त फिल्ममा ‘लेसबियन सम्बन्ध’लाई देखाइएको छ । यसको मुख्य भूमिकामा चर्चित अभिनेतृ शबाना आजमी र नन्दिता दास छन । कल्पना लाजिमीले सन् १९९७ मै निर्माण गर्नुभएको ‘दरिमियाँ’मा तेश्रोलिङ्गीको संघर्ष, पीडा, वेदना देखाइएको छ ।

अभिनेत्री कंगना रनौत र पासर अरोडाको चलचित्र ‘रज्जे’ मा महेश मांजरेकरले तेस्रोलिङ्गीको भूमिका निभाएर सबैको मन जित्नुभएको छ । कलाकार परेश रावलले सन् १९९७ मा प्रदर्शनमा आएको चलचित्र ‘तमन्ना’ मा तेस्रो लिङ्गीको भूमिका निभाउनुभएको थियो । जुही चावला र संजय सुरीको मुख्य भूमिका रहेको ‘माइ ब्रदर निखिल’मा देखाइएको समलिङ्गी भूमिकाले अन्तर्राष्ट्रिय स्तरमै तारिफ पाएको थियो । समलिङ्गी पात्र र जीवन भोगाइमा आधारित सन् २०१० मा आएको फिल्म ‘आइ एम’ले राष्ट्रिय पुरस्कार नै हात पारेको थियो । ‘बम्बे टाकिज’, ‘अलीगढ’ जस्ता फिल्म देखाइएका केही पात्र र उनीहरुको अभिनयले समलिङ्गीको मुद्दामा थप सहजीकरण गरेको पाइन्छ । ‘गे’ अर्थात समलिङ्गी पुरुष हुनु कुनै अपराध होइन भन्ने सन्देश बोकेको फिल्म ‘कपूर एन्ड सन्स’ले रुढीवाद समाजलाई खरो प्रहार नै गरेको छ ।