काठमाडौं । नेकपा एमालेले अवैध सुन प्रकरणको छानबिन नगरेसम्म संसद चल्न नदिने भएको छ । एमालेले प्रतिनिधि सभा बैठकमा रोष्ट्रम घेराउ गर्दै संसद अवरुद्ध गरेको हो । उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद चल्न नदिने एमालेको अडानसँगै सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गरी साउन १५ गते दिउँसो १ बजेका लागि आह्वान गरेका छन् । एमालेले सुन तस्करलाई तत्काल पक्राउ गर्न आग्रह गरेको छ ।
एमालेसँगै नेपाली कांग्रेसका सांसदहरुलेसमेत कारबाहीका लागि माग गरेका छन् । एमाले, कांग्रेससँगै राप्रपा र रास्वपाका सांसदहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेका छन् । गत साउन ३ गते करिब सय किलो अवैध सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो । सत्तामै रहेको नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए । बैठकमा सांसद शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा मागेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट झण्डै एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ परेको र मुख्य दोषी पक्राउ गर्न नसकेको भन्दै दुबैजना मन्त्रीको सांसद शर्माले राजीनामा माग गरेका हुन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सरकारले सुन प्रकरण वर्षैदेखि हुँदै आएको सेटिङ मध्ये अर्को एउटा सेटिङ भएको बताए लामिछाने नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन काण्डबारे आइपुग्दा यसमा जनता अचम्मित नभएको र भष्ट्राचारबारे बानी परिसकेको बबताए । जुनसुकै प्रकरणमा सरकारले फाइल खोले पनि जरोसम्म नपुगेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आशंका गरे । बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सुन तस्करीका विषयमा अहिले भइरहेको अनुसन्धान झारा टार्ने किसिमको मात्र भएको बताए ।
‘भरिया पक्रेर सुन तस्करीका नाइके संरक्षण गर्ने, हामीले यति काम त गर्यौं नि भन्ने काम नहोस्’ उनले भने, ‘अहिले जुन ढंगले अनुसन्धान प्रक्रियाका नाममा झारा टार्ने काम भएको छ, यसरी हुँदैन, विशेष आयोग, छानबिन आयोग बनाएर अनुसन्धान अघि बढाइयोस् भन्न चाहन्छु ।’
नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको भन्दै उनले अहिले पनि सरकारले थाहा पाएर सुन तस्करीमा संलग्नहरु पक्राउ नपरेको लिङ्देनले बताए । ‘अरु देशले सूचना दिएपछि पक्राउ गरेको हो’ उनले भने, ‘ बाह्य दबाब र सूचनाका आधारमा कसैलाई देखाउनका लागि मात्र सुन पक्राउ गरेको हो ।’