नीति अधिवेशनको सट्टा कांग्रेसको महासमिति बैठक, आलोचना नहुँदा देउवा खुशी - रुपान्तरण
 २०८३ बैशाख १७, बिहीबार    

नीति अधिवेशनको सट्टा कांग्रेसको महासमिति बैठक, आलोचना नहुँदा देउवा खुशी


काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकले आगामी मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको हो । १४ औं महाधिवेशनका बेला नेतृत्व मात्रै चयन गरेको कांग्रेसले नीति अधिवेशन ६ महिनाभित्र गर्ने निर्णय गरेको थियो । तर, नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति बैठक बोलाएको छ ।

महासमिति बैठक काठमाडौंमा बस्नेछ । यस्तै सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान र भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय भएको पनि महामन्त्री शर्माले जानकारी दिए ।

यस्तै कांग्रेसले सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा साथ दिने निर्णय गरेको छ । बैठकले भ्रष्टाचारमा कोही दोषी नउम्किउन कोही निर्दोष नफसुन् भन्ने नीति लिएको महामन्त्री शर्माले जानकारी दिए ।

यस्तै अहिले गठबन्धनकै कारण कांग्रेस सरकारमा हुनुका साथै राष्ट्रपतिसमेत प्राप्त गर्न सकेको कांग्रेसले निष्कर्ष निकालको छ । महामन्त्री शर्माले जनप्रतिनिधिलाई इमानदारीपूर्वक जनताको काम गर्न, भ्रष्टाचारको नियन्त्रण गर्न पार्टीले निर्देशन दिने समेत बताए । कांग्रेसले मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन सरकारसँग माग समेत गरेको छ ।

त्यस्तै कांग्रेसले गएका तीन तहका निर्वाचनमा वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको छ । बैठकले गत स्थानीय, प्रदेश, प्रतिनिधिसभामा पार्टी वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको हो ।

बैठक समापनका क्रममा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा धेरै आलोचना होला भन्ने ठानेको भए पनि नभएको टिप्पणी गरेका छन् । उनले केन्द्रीय समितिको बैठक समापन गर्ने क्रममा यस्तो बताएका हुन् ।

“सबैले राम्रो बोल्नुभयो, महत्त्वपूर्ण कुरा राख्नुभयो, धन्यवाद । धेरै आलोचना होला भनेको भएन । लाइभले कोही भन्दा कम छैन भन्ने देखियो,” उनले भने ।