सुन तस्करी प्रकरणमा एमालेको अडान - रुपान्तरण
 २०८३ बैशाख १७, बिहीबार    

सुन तस्करी प्रकरणमा एमालेको अडान


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति नबनेसम्म प्रतिनिधि सभाको बैठक चल्न नदिने अडान कायमै राखेको छ । मंगलबार सभामुख देवराज घिमिरे सहित राजनीतिक दलका नेताहरुबीच संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलमा एमालेले सो अडान कायमै राखेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने र त्यसमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने एमालेको अडान छ । गत हप्ता बुधबार पनि यी मागहरु राखेर एमालेले प्रतिनिधि सभाको बैठक अबरुद्ध गरेको थियो । प्रतिनिधि सभाको अवरोध खुलाउने बिषयमा सभामुख घिमिरेले शीर्ष नेताहरुलाई आग्रह गरेपनि नेताहरुबीच सहमति जुट्न सकेको छैन ।

साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै सय किलो तस्करीको सुन समातेको थियो । यो प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेपनि सुन कसले ल्याएको हो भन्ने मुख्य ब्यक्ति भने पक्राउ परेका छैनन् ।

एमालेको अवरोधका कारण प्रतिनिधि सभाको बैठक सूचना निकालेर एक साताका लागि स्थगित गरिएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक खुलाउन एमाले राजी नभएपछि बैठक साउन २२ गते बस्ने गरी स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । साउन १० गतेदेखि संसद बैठक बस्न सकेको छैन । साउन १० गते पनि अवरोधबीच केही क्षणमात्र बसेर विषय प्रवेश नगरी १५ गतेसम्मका लागि स्थगित भएको थियो ।