विराटनगर । सरकार गठन गरेको २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ ।
यसअघि सभामुख बाबुराम गौतमले छुट्टै हस्ताक्षर गरेर थापाले मुख्यमन्त्रीको दावी पेश गरेकोमा अहिले गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उनी माओवादी संसदीय दलका सदस्य कायम रहेकोले गठबन्धनसँग बहुमत अर्थात ४७ सांसद छन् । गठबन्धनको सरकार बनाउन सभामुख गौतमले पदबाट राजीनमा दिएका थिए ।
यसअघि सभामुखले हस्ताक्षर गरेको भन्दै सर्वोच्च अदालतले थापाको नियुक्तिलाई बदर गरेको थियो । नियुक्तिपछि थापाले सत्तारुढ गठबन्धनमा छलफल गरेर उपयुक्त समयमा विश्वासको मत लिने बताएका छन् । उनले सत्ता गठबन्धनसँग प्रदेशसभाको बहुमत संख्या रहेकाले विश्वासको मत पाउने दाबी गरे ।
तर उनले भनेजस्तो अवस्था भने देखिएको छैन । विश्वासको मत पाउने भन्नेबारे अझै अन्योल छ। उनले विश्वासको मत प्राप्त गर्नका निम्ति एमालेको साथ अनिवार्यजस्तै देखिन्छ। कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थनमा थापा मुख्यमन्त्री बने पनि विश्वासको मतका निम्ति सोही संख्या आवश्यक पर्ने हुन्छ।
तर प्रदेशसभा बैठक सञ्चालनका निम्ति उपसभामुख सिर्जना दनुवारले बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ। एमालेले उपसभामुखलाई बैठकमा नआउन निर्देश जारी गरेको अवस्थामा भने प्रदेशसभाका जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
उपसभामुखले बैठकको अध्यक्षता नगरेको अवस्थामा जेष्ठ सदस्यका हिसाबमा कांग्रेसका गयानन्द मण्डलले प्रदेशसभाको अध्यक्षता गर्नेछन्। जसअनुसार फेरि पनि गठबन्धन दलसँग ४६ मात्रै सांसद हुन्छन्। त्यस्तो अवस्थामा थापालाई विश्वासको मत प्राप्त गर्न कठिन हुनेछ। अब कोशीमा स्थिर सरकार निर्माणका लागि सबै दलहरूको साथ अनिवार्यजस्तै देखिएको छ।