गृहमन्त्रीले अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

गृहमन्त्रीले अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै सरकारले यस घटनाको निष्पक्ष अनुसन्धान गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताए ।

“सरकार अनुसन्धानमा केन्द्रित हुन्छ, सबैले सकारात्मक वातावरण बनाऔँ, कसैलाई छुट नदिने गरी जाऔँ, पहिचान र कारबाही गरिछाडौं,’ उनले भने । राज्यका निकायलाई सबैले विश्वास गर्नुपर्नेमा जोड दिँदै उनले समानान्तर समिति बनाउनु उचित नहुने बताए । “निर्धारित समयभित्र सिआइबीले अनुसन्धान गर्दा कुनै दुर्नियत देखियो वा छानबिनलाई तार्किक निष्कर्षमा पुर्‍याउन सकेन भने नयाँ शिराबाट वहस गरौं’, उनले भने ।

उनले सबैको सकारात्मक दृष्टिकोण र समर्थनका साथ यस प्रकरणलाई तार्किक निष्कर्षमा पुर्‍याइने प्रतिबद्धता व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले विद्युतीय चुरोट (भेप) भित्र सुन ल्याइएको विषयमा दोषी देखिएका कारबाहीको दायरामा आउने प्रतिबद्धता व्यक्त गरे ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बनेको छानबिन समितिले २०७० देखि २०७४ सालसम्म सात हजार नौ सय ९९ किलो सुन भित्रिएको ठहर गरेको भए पनि त्यसको कुनै अत्तोपत्तो नलागेको उनको भनाइ छ। “पछिल्लो ३३ किलो सुनमा केन्द्रित गरियो, एक तोला एक ग्राम सुन पनि पत्ता लागेन। तस्करी भइरहेको छ। अहिले पनि एक सय ५५ किलो मात्रै हो कि योभन्दा बढी पनि आएको हुनुपर्ने आकलन छ”, उनले भने, “सुन तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ नेपाल बनाइँदै छ। यसबाट नेपालको अर्थतन्त्र र सुरक्षालाई धरासायी बनाउनका साथै छिमेकी राष्ट्रलाई पनि नकारात्मक असर पुर्‍याउने काम भएको छ।”

सुन तस्करी अहिलेको मात्र नभइ हिजो पनि भइरहेको थियो भनेर चुप लागेर बस्न नमिल्ने भन्दै उनले दोषीलाई कानुनको दायरामा ल्याउनैपर्ने जिकिर गरे ।
राजस्व अनुसन्धान विभागले यही साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा बाहिरिएको झण्डै एक सय ५५ किलो सुन नियन्त्रणमा लिएको थियो। सरकारले सुन तस्करी अन्तरदेशीय सङ्गठित अपराध भएको ठहर गर्दै यही साउन २१ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई अनुसन्धान गर्न जिम्मा दिएको थियो।

श्रेष्ठले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अदालतको आदेशले थप अनुसन्धानका लागि केही आधार दिएको बताए । “अनुसन्धान पूरा गरेर अभियोजनको प्रक्रियामा पुगिएको छैन। सत्य र निष्पक्ष ढङ्गले तथ्य र प्रमाणका आधारमा अन्तिम निष्कर्षमा पुग्न प्रहरीलाई निर्देशन दिएका छौँ”, उनले भने ।

जुनसुकै अनियमितताको निष्पक्ष अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोलाई निर्देशन दिइएको उल्लेख गर्दै उनले अनुसन्धानका क्रममा देखिएको तथ्य प्रमाणका आधारमा प्रहरीले अभियोजन गर्ने बताए । उनले मुलुकभर भएका अनियमिताको घटनामा जुनसुकै पार्टीको नेता भए पनि नछाडिने स्पष्ट पारे ।

तर श्रेष्ठको जवाफपछि एमालेले मंगलबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । सुन बरामद् भएको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले मंगलबारको संसद बैठक अवरोध गरेको हो । एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले मंगलबारको बैठकका कार्यसूची हटाएर अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने जानकारी दिए ।