काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । अब जनमत पार्टीबाट अनिता देवी साह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएकी छन् । साहको शपथ भोलि (सोमबार) हुने भएको छ ।
साहको शपथ ग्रहण सोमबार बिहान १० बजे तय भएको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । जनमतले मन्त्रीका लागि यसअघि नै साहको नाम सिफारिस गरेको थियो ।
मोदीले पार्टीले गरेको निर्णय आफूलाई मान्य हुने प्रतिक्रिया दिइसकेका छन् । माओवादीको पदाधिकारी बैठकमा मन्त्रीको हैसियतमा सहभागी भएका उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले गर्ने निर्णय आफूलाई मान्य हुने बताएका हुन् । उनले मन्त्री रहिरहन भने बस्ने र छाड्न भने बाहिरिने उनको भनाइ थियो । उनले बैठकमा बोल्दै आफूले तीन महिनाअघि नै राजीनामा बुझाएको र प्रधानमन्त्रीको आग्रहअनुसार मात्रै बसिरहेको बताएका थिए ।
सिके राउतको पार्टीकी सचिवसमेत रहेकी देवीको नाम पार्टीले सिफारिससमेत गरिसकेको छ । धनुषाकी देवी यसअघि पनि मन्त्री बन्ने चर्चा थियो । तर, त्यसबेला पार्टीका उपाध्यक्ष अब्दुल खान मन्त्री बनेका थिए ।
‘
"